वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि ‘डिपोजिट कलेक्सन’ मा राष्ट्र बैंकको जोड

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि पछिल्लो केहि साता यता ‘डिपोजिट कलेक्सन’ उपकरणको प्रयोग गरी तरलता खिच्दै आएको छ ।

यसैक्रममा केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि निक्षेप संकलन उपकरण मार्फत आइतबार थप १० अर्ब रुपैयाँ खिच्ने लागेको हो ।

राष्ट्र बैंकले मंसिर सुरु भए यता मात्रै तीन वटा बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ भने आइतबार थप १० अर्ब तान्न लागेको हो। हाल राष्ट्र बैंकले ७ दिनका लागि मात्र बजारबाट पैसा तानिरहेको छ । यसअघि गत असार २८ मा राष्ट्र बैंकले २९ दिनका लागि निक्षेप संकलन गरेको थियो ।

रेमिट्यान्स निरन्तर रुपमा बढेको, आयात बढ्न नसकेको, अपेक्षित रुपमा कर्जा माग नबढेको लगायत कारण वित्तीय प्रणालीमा तरलता थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ मार्फत बजारबाट पैसा तान्न थालेको हो ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकका अनुसार औसत अन्तर बैंक दर १.४८ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करीडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको छ ।

वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलनमा ल्याउनका लागि अल्पकालीन वित्तीय औजार डिपोजीट कलेक्सन निष्कासन गरिएको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ । हाल वित्तीय प्रणालीमा ४० अर्ब अधिक तरलता रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ५८ अर्ब ५० करोड तथा कर्जा २२ अर्ब ६९ करोडले बढेको थियो । केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ५९ खर्ब ४९ अर्ब रहेको छ । कर्जा लगानी ४९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८०.९२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीका अधिक तरलता खिच्दै निक्षेप संकलनको ब्याज र अन्तर बैंक दर बढाउन खोजेको भएपनि असफल हुँदै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको निक्षेप संकलन गर्दा तरलता व्यवस्थापन भएर ब्याजदर बढ्नु पर्नेमा झनै घट्दै आएको हो ।

केन्द्रीय बैंकले मंसिर महिना सुरु भएपछि मात्रै तीन पटक निक्षेप संकलन गरेको छ । तीनै पटकमा निक्षेप संकलनको ब्याजदर क्रमीक रुपमा घट्दै आएको छ । केन्द्रीय बैंकले मंसिर ६ गते १० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । उक्त निक्षेप संकलनको औसत ब्याजदर १.९६५७ प्रतिशत रहेको छ ।

त्यसैगरी मंसिर १२ गते पनि १० अर्बको निक्षेप संकलन गरेको छ । सो दिनको निक्षेप संकलनको औसत ब्याजदर १.१४४५ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले गत बिहीबार १५ अर्बको निक्षेप संकलन गर्दा प्रतिस्पर्धा झनै बढेर औसत ब्याजदर विगतको भन्दा पनि न्यून १.०४९८ प्रतिशत कायम भएको छ ।

बजारको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल्सलाई प्रयोग गर्दै आएको थियो । तर, पछिल्लो समयमा अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।