कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाद्वारा आज सोमबार जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आज सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाका साथै एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  ०७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।