निक्षेप संकलन उपकरण मार्फत २० दिनमा ५५ अर्ब तरलता प्रशोचन, बुधबार १० अर्ब उठाइँदै

0
Shares

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरण जारी गरेर १० अर्ब रुपैयाँ उठाउँदैछ । गत बिहीबार निक्षेप संकलन मार्फत १५ अर्ब प्रशोचन गरेको केन्द्रीय बैंकले एक सातापछि पनि तरलता नघटेपछि पुनः एक साताका लागि ‘डिपोजिट कलेक्सन’ उपकरण मार्फत रकम प्रशोचन गर्न लागेको हो ।

वित्तीय प्रणालीमा रहेको अधिक तरलता खिच्न बुधबार सहित मङ्सिर महीनाको २० दिनमा निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्न लागेको हो । यसअघि प्रणालीबाट नै ४५ अर्ब प्रशोधन भैसकेको छ । ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार आइतबारसम्म बैंकहरुको औसत अन्तर बैंक दर १.०८ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको थियो । 

बजारको तरलता, डिपोजिट रेट तथा समग्र प्रणालीको अवस्थालाई विश्लेषण गरेर केन्द्रीय बैंकको खुला बजार सञ्चालन समितिले बुधबार १० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो । यस वित्तीय औजारमा लगानी गर्ने संस्थाले एक सातापछि सावाँ तथा ब्याज भुक्तानी पाउनेछन् । ब्याजदर भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

केन्द्रीय बैंकले यसअघि मंङ्सिर १७ गते आइतबार निक्षेप संकलन उपकरण जारी गरेर १० अर्ब तथा १४ गते बिहीबार १५ अर्ब रुपैयाँ प्रणालीमा खिचेको थियो । आइतबारको निक्षेप संकलनका लागि ९ सहभागि बैंक तथा वित्तीय संस्थाले ४१ वटा बोल आवेदन मार्फत २५ अर्बको माग गरेका थिए । अधिक मागका कारण औसत रेट पनि १ प्रतिशत भन्दा तल अर्थात ०.९८८६ प्रतिशत कायम भएको थियो । १४ गतेको बोलकबोलमा पनि ९ सहभागि बैंक तथा वित्तीय संस्थाले १२ वटा बोल आवेदन मार्फत ५१ अर्बको माग गरेका थिए । उक्त समयमा औसत रेट १.०४९८ कायम भएको थियो ।

केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ५९ अर्ब ६२ अर्ब रहेको छ । कर्जा लगानी ४९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८०.७६ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा वित्तीय प्रणालीमा ९४ अर्ब बढी अधिक तरलता रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।