बाँडफाँड भएको तीन महीनापछि सूचीकृत भयो “हिमालयन ८०–२०”

0
Shares

हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” बाँडफाँड भएको तीन महीनापछि बल्ल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

हिमालयन म्युचुअल फण्डको पहिलो बन्दमुखी योजनाको १० करोड इकाई मङ्सिर २७ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । उक्त इकाईको बाँडफाँड भदौ २६ गते भएको थियो । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको यस योजनाको प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैंया बराबरको इकाई बिक्रीमा ल्याएको थियो ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्से मार्फत फन्डको इकाईको दोस्रो बजारको कारोबार सुरु हुने व्यवस्था छ । सोही अनुसार बुधबार सूचीकृत भएसँगै बिहीबारदेखि उक्त म्युचुअल फन्डको इकाई एच ८०२० () कारोबार संकेतमा खरिद बिक्रीमा आउनेछ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मङ्सिर २२ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा फन्डको इकाई सूचीकरण गरिएको हो ।

“हिमालयन ८०—२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने क्यापिटलले जनाएको छ । सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तिय संस्था मध्ये एक हो । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्ने जनाएको छ ।

फन्ड व्यवस्थापक हिमालयन कयापिटलको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर २८ ठमेल काठमाडौंमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।