सेयर बजारमा पौने २८ अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार

0
Shares

सेयर बजारमा आइतबार २७.७५ अंकको सुधार आएर बन्द भएको छ । जलविद्युत समुहमा लगानीकर्ताको उच्च आकर्षण बढ्दा उक्त समुहसँगै समग्र नेप्से बढेर २ हजार २२ दशमलव ३५ बिन्दुमा पुगेर बन्द भएको हो ।

लगानीकर्तामा उत्साह जाग्दा आजको बजारमा दैनिक कारोबार रकम पाँच अर्ब नाघेको छ । दिनभरमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९५ स्क्रिप्टको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर १ लाख १ हजार १२८ वटा सङ्ख्यामा खरिद बिक्री भएको हो ।

अघिल्लो दिन बिहीबार नेप्से ६.५५ अंकले बढेर १ हजार ९९४ दशमलब ६० बिन्दुमा बन्द हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आज कारोबार भएकामध्ये २०८ कम्पनीको सेयरमूल्य बढेको छ भने ७५ कम्पनीकोे घटेको छ । १२ वटा कम्पनीको स्थिर रहेको छ । काराेबारमा आएका १३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १४ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ।

आज बैंकिङ्ग, म्युचुअल फन्ड र ब्यापार बाहेक दश उपसमुहगत सूचकमा हरियाली छाएको छ । जलविद्युत उपसमुहगत इन्डेक्स सबैभन्दा धेरै ५. ५५ प्रतिथशतले बढेको छ भने लगानी ३.१२ प्रतिशत, विकास बैंक २.६५ प्रतिशत र अन्य २.०७ प्रतिशतले बढेको छ । फाइनान्स, होटल तथा पर्यटनमुलक, लघुवित्त र निर्जीवन बीमाको इन्डेक्स पनि १ प्रतिशतभन्दा अधिक बढेको छ । सरकारले एफपीओ र बार्गेन पर्चेज गेनमा कर लगाएपछि बैंकिङ्गका भने ०.६७ प्रतिशतले घटका छ । म्युचुअल फन्ड ०.४२ र ब्यापार ०.२३ प्रतिशतले ऋणात्मक रह्यो ।

आइतबार हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ लाख ८० हजार ६३५ कित्ता सेयर २५ करोड १२ लाख ९० हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यस्तै सोनापुर मिनिरल्स एण्ड आयल कम्पनी लिमिटेडको १६ करोड ६५ लाख, रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख, शिवम् सिमेन्टको १४ करोड ५ लाख र अरुण काबेली पावरको १२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसदिन बोटलर्स नेपाल (बालाजु) लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत, विन्धबासिनी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, रावा इनर्जी डेभलपमेन्ट, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, यूनियन हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य दश प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।

हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.७७ प्रतिशतले घटेको छ भने एनएमबि माइक्रोफाइनान्सको ५.०४ प्रतिशत, मानुषी लघुवित्तको ३.९३ प्रतिशत र कालिका लघुवित्तको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को ३.७७ प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३१ खर्ब १९ अर्ब ३२ करोड ६४ लाख ४० हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबारको तुलनामा बजार पुँजीकरण ४४ अर्ब १७ करोड ८८ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।