एसबिआई बैंकको लाभांश साढे १३ हजार सेयरधनीले अझै बुझेनन्, संकलन गर्न आग्रह

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडका साढे १३ हजार सेयरधनीले लाभांश नबुझेको देखिएको छ । बैंकको २०७५ पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाटपारित भएको १०.७९ प्रतिशत नगद लाभांश नबुझ्ने लगानीकर्ताको सङ्ख्या उल्लेख्य देखिएको हो ।

बैंकको वेवसाईट मार्फत सार्वजनिक गरिएको सूची अनुसार हालसम्म पनि रकम संकलन र दाबी गर्न बाँकी रहेका सेयरधनीको विवरण १३ हजार ५६२ जना रहेका छन् ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको नगद लाभांश डिम्याट र सेयरधनी विवरणमा अद्यावधिक गरिएको बचत खातामा नगद लाभांश जम्मा गरिएको जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । तथापि, डिम्याट र सेयरधनी विवरणमा बचत खाता अद्यावधिक नभएको तथा विभिन्न कारणले वितरित नगद लाभांश सेयरधनी भुक्तानी हुन नसकेको बैंकले जनाएको छ ।

यसरी भुक्तानी हुन नसकेको नगद लाभांश सेयरधनीहरुलाई आफ्नो परिचयपत्र सहित सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा सम्पर्क राखी नगद लाभांश संकलन गर्न सक्नेछन् । सो अवधिभित्र सम्बन्धित सेयरधनीको दाबी प्रस्तुत हुन नआएमा बुझिलिन बाँकी नगद लाभांश रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

यसरी संकलन नहुने रकम लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।