निक्षेप संकलनको दर ब्याजदर करिडोरको तल्लो सीमामा अझै पुगेन

0
Shares

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई ब्याजदर करिडोरको सीमा भित्र कायम गर्न पटक पटक निक्षेप संकलन उपकरण जारी गरेपनि मुस्कील भएको छ।

केन्द्रीय बैंकले मंसिर महिना लागेपछि मात्रै वित्तीय प्रणालीमा रहेको झण्डै दुई खर्ब बढी निक्षेप संकलन उपकरण मार्फत उठाएको छ । तर, निक्षेप संकलनको ब्याजदरलाई करिडोरको तल्लो सीमासम्म कायम गर्न सकेको छैन । बैंकहरुमा अझैपनि अधिक तरलताको अवस्था कायमै रहेकाले केन्द्रिय बैंकलाई निक्षेप संकलनको ब्याजदरलाई करिडोरको तल्लो सीमासम्म कायम गर्न मुस्किल परेको हो।

केन्द्रीय बैंकले आक्रामक रुपमा वित्तीय प्रणालीको तरलता निक्षेप संकलन मार्फत खिचेर अन्तर बैंक दरलाई ब्याजदर करिडोरको तल्लो सीमासम्म पुर्याउने क्रममा शुक्रबार २५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको छ । 

शुक्रबार केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ संकलन गर्न खोज्दा १३ बैंकहरुले ५५ आवेदन मार्फत ४५ अर्ब रुपैयाँ बुझाउन चाहेका थिए । उनीहरुले न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम २.९४ प्रतिशतसम्म ब्याज माग गरेका थिए । तर, शुक्रबारको निक्षेप संकलनको दर झनै घटेर २.७६३५ प्रतिशत कायम भएको छ ।

यसअघि बुधबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा जसको ब्याजदर २.७७७६ प्रतिशत कायम भएको थियो । हाल अन्तर बैंकदर २.७१ प्रतिशत रहेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि करिडोरको तल्लो सीमा ४.५ प्रतिशत थियो। निक्षेप संकलन ब्याजदर नै करिडोरको तल्लो सीमा हो । केन्द्रीय बैंकले अन्तर बैंकदर ब्याजदर करिडोर भन्दा तल आएको खण्डमा निक्षेप संकलन गर्छ ।

केन्द्रीय बैंकले मंसिर महिना सुरु भएयता एक खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट तानेको ९० अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग नै छ अर्थात परिपक्क हुन बाँकी नै छ । त्यतिहुँदा पनि निक्षेप संकलनको दरले ब्याजदर करिडोरको तल्लो सीमा छुन सकेको छैन ।

बैंक तथा वित्तीय सस्थासंग अधिक तरलता भएपछि निक्षेप संकलनमा उच्च प्रतिस्पर्धा गर्दा निक्षेप संकलनको ब्याजदर पनि घटेको स्पष्ट हुन्छ । पुस ६ गतेको निक्षेप संकलन १४ दिनपछि परिपक्क हुनेछ । पछिल्लो समयमा अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो । हाल वित्तीय प्रणालीमा साढे ३८ अर्ब अधिक तरलता रहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।