कालिका पावरले दश प्रतिशत बोनस बाँड्ने

0
Shares

कालिका पावर कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०७९–८० को संचित मुनाफाबाट चुक्ता पुँजी ७९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयर बापतको कर भुक्तानी गर्ने प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ४१ लाख ७६ हजार २१६ रुपैयाँ नगद लाभांश वितरण हुनेछ । सोही बैठकले लाभांश पारित गर्न पुस महिना २८ गते शनिबार भरतपुर १० मा रहेको दियालो फुडल्याण्ड चितवन प्रालिमा बिहान ११ बजे सभा डाकेको छ ।

सभाले ग्लासियर हाइडो प्रालि अन्तर्गतको गोरखा जिल्ला स्थित ८.३ मेगावाट क्षमताको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र ९.८ मेगावाट क्षमताको माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनामा लगानि गर्ने सम्बन्धमा प्रस्ताव माथि छलफल तथा पारित गर्नेछ ।

उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरण उपर छलफल गरी पारित गर्नेछ । यस्तै सञ्चालक समितिको तर्फबाट गत आवमा गरेको सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने र चालु आव २०८०२०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाबाट हुनेछ ।

साथै प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संसोधनका सम्बन्धमा नियमनकारी निकायवाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संसोधन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने सम्बन्धि विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।