बैंकिङ्ग प्रणालीमा ४७ अर्ब २८ करोड अधिक तरलता, राष्ट्र बैंकले ३५ अर्ब खिच्दै

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी १४ दिनको लागि ३५ अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार गत आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ४७ अर्ब २८ करोड ६५ लाख अधिक तरलता छ। बैंकहरुमा तरलता बढेपछि अन्तर बैंकदर २.५६ प्रतिशतमा झरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले अन्तरबैंक ब्याजदर केन्द्रीय बैंकले राखेको लक्ष्यभन्दा तल रहेको छ । अन्तर बैंकदरलाई ब्याजदर करिडोरको तल्ल्लो सीमामा ल्याउन पनि केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेको छ। तर पनि अन्तरबैंक ब्याजदरलाई सीमामा ल्याउन सकेको छैन।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अघि करिडोरको तल्लो सीमा ४.५ प्रतिशत थियो। निक्षेप संकलन ब्याजदर नै करिडोरको तल्लो सीमा हो । केन्द्रीय बैंकले अन्तर बैंकदर ब्याजदर करिडोर भन्दा तल आएको खण्डमा निक्षेप संकलन गर्छ ।

राष्ट्र बैंकले गत शुक्रबार बैंकहरुबाट २५ अर्ब रुपैयाँ तानेको थियो। राष्ट्र बैंकले मंसिर सुरु भए यता नै १३ पटक निक्षेप संकलन उपकरण जारी गरिसकेको छ। केन्द्रीय बैंकले मंसिर महिना लागेपछि मात्रै वित्तीय प्रणालीमा रहेको झण्डै एक खर्ब ९७ अर्ब २५ करोड निक्षेप संकलन उपकरण मार्फत उठाएको छ । जसमध्ये ६२ अर्ब २५ करोड रुपैयाँ अझै परिपक्क हुन बाँकी रहेको छ । त्यतिहुँदा पनि निक्षेप संकलनको दरले ब्याजदर करिडोरको तल्लो सीमा छुन सकेको छैन ।

केन्द्रिय बैंकले गत शुक्रबार २५ अर्ब रुपैयाँ संकलन गर्न खोज्दा १३ बैंकहरुले ५५ आवेदन मार्फत ४५ अर्ब रुपैयाँ बुझाउन चाहेका थिए । उनीहरुले न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम २.९४ प्रतिशतसम्म ब्याज माग गरेका थिए । शुक्रबारको निक्षेप संकलनको दर झनै २.७६३५ प्रतिशत कायम भएको छ । यसअघि २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दा जसको ब्याजदर २.७७७६ प्रतिशत कायम भएको थियो । हाल अन्तर बैंकदर २.५६ प्रतिशत रहेको छ ।

पछिल्लो समयमा अधिक तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो । हाल वित्तीय प्रणालीमा ४७ अर्ब २८ करोड अधिक तरलता रहेको छ। केन्द्रीय बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३४ अर्ब पुगेको छ भने कर्जा लगानी ५० खर्ब ५ अर्ब रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।