ग्रीन भेञ्चर्सले डाक्यो साधारण सभा, सेयरधनीले लाभांश नपाउने

0
Shares

ग्रीन भेञ्चर्स लिमिटेडले २०८० माघ ५ गते शुक्रबार साधारण सभा डाकेको छ । पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे बानेश्वर व्याङक्वेट, थापागाउँ नयाँ बानेश्वरमा काठमाडौंमा पाँचौं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

वार्षिक साधारण सभामा आव २०७९–८० बाट कम्पनीले बोनस वा नगद कुनैपनि प्रकारको लाभांश वितरणको प्रस्ताव गरेको छैन । सभामा छलफल तथा निर्णयको लागि निर्धारित विषयसूचीमा सामान्य प्रस्ताव मात्र छन् ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण सहितको वार्षिक आर्थिक विवरण पारित गर्ने छ । यसैगरी आव २०८०–८१ को लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम २७ (२) बमोजिम सर्वसाधारण सेयरधनी समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीका सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

साधारण सभाका लागि कम्पनीले पुस २० गते शुक्रबार एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

ग्रीन भेन्चर्स लिमिटेडमा ब्यापारिक घराना त्रिवेणी ग्रुपको मुख्य लगानी छ । ग्रीन भेन्चरले हाल नेपाल भरिका विभिन्न मध्यमदेखि ठूला आकारका जलविद्युत परियोजनाहरू विकास गर्दैछ । ग्रीन भेञ्चरमा त्रिवेणी ग्रुपसँग विशाल ग्रुपले लगानी साझेदारी गरेको छ । यी दुई घरानाबीच जलविद्युत् तथा सिमेन्ट लगायतमा साझेदारी छ ।

ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४० मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ कार्तिक २१ गतेदेखि व्यवसायीक रुपमा विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनीको प्रतिसेयर लागत मूल्य २३ करोड रुपैयाँ छ । कुल १२ अर्ब ८ करोड लागत रहेको आयोजनाबाट साधारण लगानी फिर्ता अवधि ७.९१ वर्ष र डिस्काउन्टेड मा लगानी फिर्ता अवधि ११.५७ वर्ष लाग्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।