जोशी हाइड्रोपावरको हकप्रद सेयर आउँदै

0
Shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विद्यमान सेयरधनीका लागि चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

कम्पनीले १० बराबर ६.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग मङ्सिर २० गते अनुमति मागेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशतले हुन आउने २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

हकप्रद सेयर निष्कासन गर्नका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ ।

कम्पनीको पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा-१ आयोजना सञ्चालनमा रहेको छ । विसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरण पावर ट्रेड डिपार्टमेन्टमा उल्लेख गरिएको छ । आयोजनाको कूल लागत प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँका आधारमा ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।