नेप्सेको ओरालो यात्रा रोकिएन, ६ दिनमा १११ अंकले घट्यो नेप्से

0
Shares

सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार ३० अंक सहित पछिल्लो ६ कारोबार दिनमा बजार सूचक १११.७६ अंकले ओरालो लागेको हो । पुस ४ गते २१४१.८७ बिन्दुमा रहेको नेप्से पुस १७ गते आइपुग्दा २०३०.१० बिन्दुमा झरेको हो ।

मंगलबार नेप्से ३०.०५ अंक अर्थात १.४५ प्रतिशतले घटेर २०३० को बिन्दुमा कायम हुन पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स १.४५ प्रतिशतले ३८०.५३ बिन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका १३ ओटै उपसमूहगत परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्दा जीवन बीमा २.९९ र निर्जीवन बीमाको इन्डेक्स २.७६ प्रतिशतले घटेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापारको इन्डेक्स १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से ओरालो लाग्दा कारोबार रकम ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँ बराबरका ३०५ कम्पनीका १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर खरिद बिक्री भएको छ । ८५ हजार ४३५ वटा सङ्ख्यामा उक्त रकम बराबरको कारोबार भएको हो । पुस १७ गते तथा मंगलबार साताको तेस्रो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब २९ करोड बढीको सेयर कारोबार भएको थियो ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्टसको सर्वाधिक १६ करोड ११ लाख तथा हाथवे इन्भेष्टमेन्ट १५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सिटिजन लाइफको १४ करोड ७३ लाख, सोनापुर मिनरल्स एण्ड आयलको १२ करोड ८९ लाख, एनआरएन इन्फ्रास्टक्चरको १२ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, आइएमई लाइफ र सोल्टि होटलको आज सर्वाधिक कारोबारहुने दश कम्पनीभित्र समेटिएको छ ।

यस दिन चार स्टकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र लक्ष्मी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्किटपछि चिरख्वा हाइड्रोपावरको ५३१.४० रुपैयाँ, मृक्तिनाथ कृषि कम्पनीको ५०९ रुपैयाँ, नेपाल वेयर हाउजिङ्ग कम्पनीको ३६९.४० रुपैयाँ र लक्ष्मी लघुवित्तको सेयर मूल्य ७८५ रुपैयाँमा पुगेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये हिमालयन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर ३४८.३० रुपैयाँमा झरेको छ । यसैगरी न्यून लाभांशका कारण सिटिजन लाइफको सेयर मूल्य ७.१८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ६.५६ प्रतिशत, मेगा म्युचुअल फन्ड ५.७७ र अपर हेवाखोलाको सेयर मूल्य ५.५८ प्रतिशतले ओरालो लागेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब ६१ करोड १० लाख २८ हजारमा समेटिएको छ। हिजो सोमबार कुल बजार पुँजीकरण ३२ खर्ब ३० करोड ९ लाख ८ हजार रुपैयाँ थियो । मंगलबार मात्रै बजार पुँजीकरण ७६ अर्ब ४७ करोड ९८ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।