मन्दाकिनी र सिंगटी हाइड्रोपावरको सेयर मूल्य समायोजन

0
Shares

मन्दाकिनी हाइड्रोपावर र सिंगटी हाइड्रोपावर कम्पनीको बिहीबार नेपाल स्टक एक्सचेञ्जमा सेयर मूल्य समायोजन भएको छ । मन्दाकिनी हाइड्रोपावरको बोनस र सिंगटी हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो ।

मन्दाकिनी हाइड्रोपावरको चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर समायोजनपछि ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ । बिहीबार कम्पनीको धितोपत्र अन्तिम पटक प्रतिकित्ता ४२८ रुपैयाँ ८० पैसामा खरिद बिक्री भएको थियो ।  यस्तै सिंगटी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर समायोजनपछि प्रतिकित्ता २०२ रुपैयाँ ९० पैसा तोकिएको छ । कम्पनीको धितोपत्र बिहीबार अन्तिम पटक ३०५ रुपैयाँ ८० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

दुबै कम्पनीहरुले हकप्रद र बोनस वितरणका लागि शुक्रबार बुकक्लोज गर्दैछन् । सोही आधारमा बिहीबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर बोनस तथा हकप्रदमा मूल्य समायोजन भएको हो । बिहीबार नै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) को पनि लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेपनि ती कम्पनीले प्रस्ताव गरेको नगद लभांश दोस्रो बजार भाउको १० प्रतिशतभन्दा कम भएका कारण नेप्सेले मूल्य समायोजन नगरेको हो । नेप्सेले दोस्रो बजारको १० प्रतिशतभन्दा कम नगद लाभांशमा सेयर मूल्य समायोजन गर्ने गरेको छैन ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार बुकक्लोज तोकेका सबै कम्पनीको आज बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले चुक्ता पुँजीको ५.०५ प्रतिशत नगद लाभांश पारित गर्न पुस २९ गते बिहान १० बजे रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा २९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै बोटलर्स नेपाल (तराई) ले प्रति सेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने सहितका प्रस्ताव राखेर पुस २७ गते सोल्टी होटल, ताहाचल काठमाडौँमा सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे सुरु हुनेछ ।

यसैगरी मन्दाकिनी हाइड्रोपावरले चुक्ता पुँजीको ४.७५ प्रतिशतका बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका नगद लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा डाकेको छ ।

सिंगटी हाइड्रोपावरले १ः१ अनुपातमा चुत्तक्ता पुँजी बराबरले हुन आउने १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री खुला हुने मिति तोक्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।