सरकारले उपयुक्त वातावरण बनाइदिए १० वर्षमा १० हजार विद्युत उत्पादन सम्भव


सरकारले उचित वाताबरण तयार पारेको खण्डमा १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने उर्जा उद्यामीहरुले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उर्जा उद्यमीहरुले जलस्रोतको सम्भाव्यता अनुसार काम गर्न नसकिएको भन्दै यस्तो बताएका हुन् ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले देश विकास र समृद्धिको पहिलो आधार जलस्रोतनै रहेको बताए । उनले देशका युवाहरु सबै पलायन भइरहेको अवस्थामा पहिलो प्राथमिकतामा जलस्रोतलाई राखेर अगाडि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । नेपालमा जलस्रोतका अपार सम्भावना रहेको र छिमेकी देश भारत र बंगलादेशमा बजार रहेको उनले बताए ।

“भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने भनेर सम्झौता भएको छ । बंगलादेशले ५ हजार मेगावाट विद्युत लाने इच्छा जाहेर गरेको छ ।” उनले भने, “४० मेगावाट चाहीँ बंगलादेशलाई पनि सुरु गर्नका लागि त्रिदेशीय सम्झौता हुने क्रममा रहेको छ । हामीमा जलस्रोतको अपार सम्भावना छ र छिमेकीमा बजार छ ।”

सरकारको १० हजार मेगावाट भारतलाई बेच्ने, ५ हजार मेगावाट बंगलादेशलाई बेच्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत गर्ने योजना कार्यान्वयन र विद्युत उत्पादन सम्भव छ त ? भन्ने प्रश्न अहिले खडा भएको उनको भनाई थियो । उनले जलविद्युतको एक सय १३ वर्षको इतिहासमा २ हजार आठ सय ९२ मेगावाट विद्युत उत्पादन भइरहेको अवस्थामा सरकारले १२ वर्षमा २८ हजार ७ सय मेगावाट बनाउने भनेर ल्याएको योजना पुरा गर्न समय अनुसार सहज पाताबरण बनाउनुपर्ने बताए ।

सरकारले सबैभन्दा पहिला वन मन्त्रालयका नीति र ऐनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताएका उनले जलविद्युतको तालुकदार मन्त्रालय उर्जा मन्त्रालय भएको र सो मन्त्रालयमा सहसचिवको नेतृत्वमा सबै मन्त्रालयका अधिकृतहरु राखेर वान–डेस्क–सिस्टमको विकास गरेर काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

अहिले पिपिएको पर्खाइमा रहेका र पिपिए भएका आयोजना २२/२३ हजार मेगावाट विद्युत आयोजना निजी क्षेत्रसँग रहेको बताएका उनले उपयुक्त वातावरण बनेको खण्डमा ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारा यथार्थमा परिणत हुने बताए ।

त्यसैगरी, उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राज्य विकासका लागि र जनताको दुःखमा संवेदनशील बन्न नसकेको बताएका थिए । उनले अहिलको अवस्थामा राज्यले पहिला यो देशमा केही गर्न सकिन्छ र केही हुन्छ भन्ने आशा आम नागरिकमा जगाउन जरुरी रहेको बताए । यदि आशा जगाउन नसकेको खण्डमा निकट भविष्यमै युवा विहीन नेपालको अवस्था आउने उनको भनाई थियो ।

भारतसँगको विद्युत व्यापार सम्झौता नेपालको समृद्धि र विकासका लागि महत्वपूर्ण रहेको बताएका उनले जलविद्युतका क्षेत्रका लगानी कर्ताले धेरै लामो समयदेखि जलविद्युत उत्पादनबारे बोलिरहेको भएपनि भारतको सहमतिविना त्यो सम्भव नदेखेको बताएका थिए ।

“कुलमानजीले ९ रुपैयाँ एभरेजमा नेपालीलाई विजुली बेच्नुहुन्छ । भारतमा साढे १० रुपैयाँ नेपालीमा एक्पोर्ट गर्नुहुन्छ । कत्ति राम्रो अवस्था आएको छ ! १० वर्षमा १० हजार मेगावाट भनेर इपान र म आफैंले बोलिराखेको १२/१४ वर्ष भयो ।“ उनले भने, ”तर, भारतको सहमतिविना यो सम्भव थिएन । अहिले भारत खुलेर आएको अवस्था छ ।”

सरकारले १० हजार मेगावाट उत्पादन १० वर्षमा नभएर ७ वर्षमा उत्पादन गर्ने लक्ष्य राख्नुपर्ने बताएका उनले १० हजार मेगावाटको भाषण गरेर मात्रै नहिँड्न नेताहरुलाई सुझाव दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।