अल्पकालिन कारोबारी र सट्टेवाज हाबी हुँदा शेयरबजारमा तिब्र उतारचढाब , जोखिममा साधारण लगानीकर्ता

0
Shares

चैतको अन्तिम साताबाट सुधार हुन थालेको शेयर बजार १६ करोबार दिनमै १४९ अंक उकालो लाग्यो । नेप्से बढ्न थालेपछि शेयर कारोबार समेत उत्साहजनक भयो यसबिचमा ५ कारोबार दिनमा अर्ब बढीको शेयर किनबेच भयो ।

बजारमा बढ्ने क्रममा नेप्से परिसूचक १४९ अंकले उकालो लाग्यो र १६ कारोबार दिनमा ११६५ अंकबाट १३१४ अंकसम्म पुग्यो । त्यसपछि बजार ओरालो लाग्न थालेको बजार लगातार चार दिन घट्यो र फेरि बढ्यो ।

पछिल्ला २२ कारोबार दिनमा १४ दिन बढेको बजार ८ दिन घट्यो । शेयर बजारमा हुने उतारचढाब सामान्य प्रक्रिया हो । नेप्से सूचकको उतारचढाबलाई बजारको ब्युटिको रुपमा पनि व्याख्या गरिएको पाईन्छ ।

तर बजारमा देखिएको अस्वाभाविक उतारचढावले शेयर बजारमा सट्टेवाज हावी भएको देखिन थालेको छ । सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्ता अन्योलमा देखिएका छन् ।

पछिल्लो साताको बजारको उतारचढाबलाई मात्र हेर्ने हो भने पनि लगातार चार दिन घटेको नेप्से सोमबार एकाएक २२ अंक उकालो लाग्यो । बजारमा देखिएको दोहोरो अंकको उच्च उतारचढाबले बजारमा सट्टेवाज हाबी भएको आँकलन गर्न सकिन्छ ।

अहिलेको बुलिस बजारमा सट्टेवाज हावी भएको एक विश्लेषक बताउँछन् । “सट्टेबाज हरेक बजारमा हुने हुँदा कम्पनीको उपयुक्त विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने उनको सुझाब छ । बजार अल्पकालीन कारोबारी र दिर्घकालीन गरी दुवै खालका लगानीकर्ता हुने भएकाले प्रयाप्त विश्लेषण गरेर लगानी गरे जोखिमबाट बच्न सकिने उनले बताए ।

बजारमा देखिएको बुलिस र वियरीस प्रवृद्धिमा उच्च अंकको रहेको हुनाले लगानीकर्ता लगानी गर्ने नगर्ने अन्येलामा देखिएका छन् । अल्पकालिन कारोबारीहरु नाफा सुरक्षित गर्न अग्रसर हुँदा पनि बजारमा तिब्र उतारचढाब हुने गरेको छ ।

शेयर बजारका चतुर खेलाडिहरुले सामान्यत बजारमा सट्टेवाजी गर्ने प्रयतन गर्छन् । यस्तो अवस्थामा सामान्य लगानीकर्ताको लगानीको जोखिम बढ्ने हुन्छ । सट्टेवाजहरुले सामान्य लगानीकर्ताहरुलाई बुलिस ट्र्यापमा पार्ने जोखिम उत्तिकै रहन्छ ।

सट्टेवाज हावी भएको अवस्था बजार निक्कै चलायमान हुने गर्छ । उनीहरुले समूहगत रुपमा बजारमा खेल्ने कोशीस गर्छन् । पछिल्लो समयको बजारको प्रवृति मूल्याकंन गर्ने हो भने पनि यो प्रष्ट देखिन्छ ।

बजार बढ्ने क्रम सुरुहुँदा वाणिज्य बैंकहरुमा झुम्एिका सट्टेवाजहरु बजार करेक्सन हुन भन्दा अगाडि नै बीमा समूहतर्फ जम्प गरे । जसले गर्दा बजारमा वाणिज्य बैंकपछि बीमाको कारोबार र शेयरमूल्य बढ्न गयो । त्यसपछि एकाएक जलविद्युत समूहमा उछाल आयो । वाणिज्य बैंक , बीमा र जलविद्युतमा केही शिथिलता देखिदा बजारमा रहेका उत्पादन समूहका कम्पनीको शेयर मूल्य बढ्न थाल्यो । पछिल्ला केही दिन शिवम सिमेन्टको मूल्य निरन्तर बढेको छ । उत्पादन समूहका अन्य कम्पनीहरुको पनि कारोबार बढेको देखिन्छ ।

बजार वढेको समयमा सट्टेवाजले एक समूहको शेयर खरिद गर्ने र अर्को समूहको शेयरमा थोरै भएपनि नाफा बुक गर्ने गरेको देखिन्छ । यसकारण बजारमा समूहगत उतारचढाब समेत देखिने गर्छ । पछिल्लो एक महिनाको बजारले यो प्रष्ट देखाउँछ ।

विगत दुई बर्ष यता शेयर बजारमा लगानी गर्दे आएका एक लगानीकर्ताले पनि शेयर बजारमा सट्टेवाज हावी भएकाले लगानीको निणय गर्न कठिनाई भएको बताए । ‘बजार छिनमै बढ्छ छिनमै घट्छ, शेयर मूल्य प्राकृतिक हो वा कृतिम हामी जस्ता सामान्य लगानीकर्तामा झन अन्योलता बढेको छ । शेयर किन्ने कि बेच्ने दोधारमा छौ ।’ उनले भने ।

सोमबार कारोबार सुरु हूँदा करिब ४ अंकसम्मले घटेको नेप्से त्यपछिको केहि समयपछि उकालो लाग्यो । त्यसपछि लगभग एक घण्टा सकारात्मक रहेको बजार एक्कासी ओरालो लाग्यो । र केहीसमय पछि फेरि घट्यो । तर पछिल्लो एक घण्टामा बजार बढ्ने क्रमले तिब्रता पायो र २२ अंक माथि उक्लिएर बन्द भयो ।

सोमबारको दिनभरको बजारको प्रवृति हेर्दापनि बजारमा सट्टेवाज हाबी भएको देखिन्छ । बजार तिब्र गतिले बढ्ने तर कारोबारमा सुधार नहुनेले यसलाई थप पुष्ट्याई गर्छ । यस्तो अवस्थमा लगानीकर्ताहरु सचेत हुनुपर्ने छ नत्र लगानीको जोखिम बढ्न सक्छ । बाठा लगानीकर्ताहरु साधारण लगानीकर्तालाई बुलिस ट्र्यापमा पारेर नाफा उठाउने धुनमा क्रियाशिल हुने गर्छन् ।