बङ्गुरका पाठापाठी बेचेर वार्षिक १२ लाख रुपैयाँ आम्दानी


कैलाली ।  धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउएका छन् । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए। व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए। बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब १ महिना लाग्छ । एउटा पाठा वा पाठी ६ हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।
बङ्गुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताउनुभयो । “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष  ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए। उनी सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेका छन् ।
सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए। किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।