हरित व्यवसाय प्रवर्द्धनका लागि एडिबी र बीआइआइको सहकार्य, २५ खर्ब डलर खर्च गर्ने लक्ष्य

0
Shares

एशियाली विकास बैंक (एडिबी) र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ)ले एशिया तथा प्यासिफिक क्षेत्रमा हरित व्यवसाय प्रवर्द्धन गर्न सहकार्य गर्ने भएका छन्।

यी दुई संस्थाहरुले एशिया तथा प्यासिफिक क्षेत्रका स्थानीय बैंकहरुले हरित व्यवसायका प्रवाह गर्ने कर्जाको जोखिमभार बाडफाँड गर्ने भएका हुन् । एडिबिले सञ्चालन गरेको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी) अन्तर्गत यो कार्यक्रम लागू हुने छ ।

हरित व्यवसाय भन्नाले वातावरणमैत्री तथा वातावरणमा असर नगर्ने व्यवसाय हो । यस्तै ग्रीन ट्रेड अर्थात् हरित व्यापार भन्नाले वातावरणमा प्रतिकूल असर नगर्ने वस्तुहरुको किनबेचलाई बुझिन्छ । जसअन्तर्गत सोलार प्यान्ल, वीन्ड टर्बाइन, विद्युतीय सवारी साधन तथा कृषिजन्य वस्तुहरुको खरिद बिक्री पर्छ । एडिबि र बीआइआइले संयुक्त रुपमा सञ्चालन गर्ने फाइनान्सिङ योजना हाल भियतनामबाट सुरु गरिएको छ । यस योजना अन्तर्गत हरित व्यापारका लागि स्थानीय बैंकहरुले गर्ने फाइनान्सिङको मात्रा बढ्नेछ ।

यसै सन्दर्भमा एडिबिका निजी क्षेत्र सञ्चालन निर्देशक सुज्जेन गबौरीले एशियाली विकास बैंक एशियाको क्लाइमेट बैंक समेत भएकाले बैंकले हरित, दिगो तथा जलवायु परिवर्तनको असर न्युनिकरणका लागि र नवीकरणीय उर्जाको उपयोग बढाउन विभिन्न कार्यहरु गर्दै आएको बताएका छन् ।

यस्तै बीआइआइसँगको साझेदारीले एडिबिद्धारा सञ्चालित टिएससीएफपीको विश्वव्यापी व्यापार विस्तारका लागि आपूर्ति श्रृङ्खला वृद्धि गरी हरित, उत्थानशील तथा उत्तरदायी व्यापार प्रवद्धनको उद्देश्य प्राप्तिका लागि सहयोग गर्नेछ ।

टिएससीएफपीले वार्षिक रुपमा २५ खर्ब डलर बराबरको रकम फाइनान्सिङमा खर्च गर्ने लक्ष्य राखेको छ ।

 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ