प्रभु मनी ट्रान्सफरको आम्दानी निरन्तर घट्दै, चार वर्षमा ५५% गिरावट

0
Shares

रेमिट्यान्स सेवा प्रदान गर्दै आएको प्रभु मनी ट्रान्सफर प्रालिको सञ्चालन आम्दानीमा भारी गिरावट आएको छ । आर्थिक वर्ष २०२० मा ७० करोड सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ३० करोड ९० लाखमा खुम्चिएको हो ।

आव २०२० मा कम्पनीले ७० करोड सञ्चालन आम्दानी गरेको थियो । आव २०२१ मा कम्पनीको सञ्चालन आम्दानी घटेर ५४ करोड ८० लाख पुगेको थियो । आम्दानी घट्ने श्रृङ्खला जारी रहँदै गर्दा कम्पनीको सञ्चालन आम्दानी २०२२ मा ४४ करोड १० लाख रुपैयाँमा समेटिएको छ भने आव २०२३ मा आम्दानी घटेर ३० करोड ९० लाख पुगेको छ । यसरी आव २०२० देखि २०२३ सम्मको अवधिमा सञ्चालन आम्दानी ५५.८५ प्रतिशतले घटेको छ भने आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी ३० प्रतिशतले घटेको छ ।

प्रभु ग्रुपले सञ्चालन गरिरहेको प्रभु मनी ट्रान्सफरको सञ्चालन आम्दानीमा आएको गिरावटको प्रभाव कम्पनीको नाफामा समेत परेको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा आव २०२० मा कुल सञ्चालन आम्दानीको ४१.९८ प्रतिशत थियो भने आव २०२३ सम्म आइपुग्दा सो नाफा घटेर ३४.७३ प्रतिशतमा समेटिएको छ ।

हाल कम्पनीले मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । देशभित्र र बाहिर गरी कम्पनीले २५ वटा बैंक तथा गैर–बैकिङ वित्तीय संस्थासँग साझेदारी गरेको छ। हाल कम्पनीका ६ हजार बैंकिङ एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्ट रहेका छन्।

करिब २० वर्ष देखि नेपालको बैंकिङ तथा रेमिट्यान्सको क्षेत्रमा प्रभुत्व जमाउँदै आएको प्रभु ग्रुपद्धारा सञ्चालित प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी प्रकाश भट्टाचन रहेका छन् । यस्तै कम्पनीका प्रबन्ध निर्देशक रामेश्वर सापकोटा हुन् ।

कम्पनीले १ अर्ब ५९ करोड ७७ लाख कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले १ अर्ब ४४ करोड ७७ लाख बराबरको कर्जाका लागि बी र १५ करोड बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।