साढे सात महिना यताकै उच्च बिन्दुमा नेप्से, पौने दुई अर्बको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से माघ २ गते विगत साढे सात महिना यताकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार सूचक २६ अंकले बढेर १३१० दशमलव २३ बिन्दुमा पुगेको छ। यसअघि जेठ १६ गते बिहीबार नेप्से १३१९ दशमलव ४७ अंकमा थियो। सो दिन एक अर्ब ५२ करोड ८१ लाखको शेयर कारोबार भएको थियो।

नेप्से एक वर्षको अवधिमा २०७५ फागुन १२ गते आइतबार सबैभन्दा न्यून बिन्दु ११०२ दशमलव ३२ अंकसम्म झरेको थियो।

बिहीबार नेप्से २.०२ प्रतिशतले बढ्दा कारोबार रकम एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन १८१ कम्पनीका १७ हजार २९५ वटा कारोबारबाट ५० लाख २५ हजार ५६३ कित्ता शेयर खरीद बिक्री भएको छ।

बिहीबार कारोबारमा आएका अन्य बाहेक बाँकी सबै उपसमूहको सूचक बढ्दा कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा ८० करोडले कारोबार रकम बढेको छ। यसदिन वित्त र उत्पादन ४ प्रतिशत, लघुवित्त, जीबन बीमा, होटल, ब्यापार, म्युचुअल फण्डको सूचक ३ प्रतिशत बढीले उकालो लागेको छ।

बिहीबार नेप्सेमा कारोबार भएका सबैजसो समुहगत उपसूचक पनि बढेका छन्। नेप्सेमा कारोबार भएका १८१ मध्ये १५४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयरमूल्य घटेको छ। १२ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ।

यसदिन हिमालयन डिष्ट्रलरीको शेयरमूल्य १४ करोड ३८ लाख ९९ हजार र शिवम् सिमेन्टसको १३ करोड ५९ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। एनआईसी एशिया, प्रभु, नेपाल लाइफ, नेपाल बैंक, कुमारी बैंक, प्राइम, एनसीसी र एनएमबि बैंकको पनि ३ करोड बढीको कारोबार भएको छ।

बिहीबार ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी १० कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ। महिला सहयात्रा लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ भने बाँकी १३ कम्पनीको शेयरमूल्य सामान्य घटेको छ।