शेयर बजारमा उछाल आउँदा यी हुन् लगानीकर्ताको रोजाईमा परेका कम्पनी

0
Shares

शेयर बजार परिसूचक नेप्से साढे सात महिना यताकै उच्च विन्दुमा पुग्दा ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ। बजारमा आएको उच्चतम सुधारले कारोबार रकम समेत पौने दुई अर्ब नजिक पुगेको छ।

बिहीबारको बजारमा लगानीकर्ताको माग उच्च हुँदा ५ कम्पनीको शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ। यसदिन नबिल प्रगति फण्ड, आईसिएफसि फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, तिनाउ मिसन र मल्टीपरपोज फाइनान्सको शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ। यसदिन दश कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। १८१ कम्पनीको कारोबार भएको बजारमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ।

नेप्से सूचक २६ अंकले बढेर १३१० विन्दुमा पुग्दा १८१ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। विहीबारको बजारमा ५० लाख २५ हजार ५६३ कित्ता सेयर खरिद बिक्री भएका छन्।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसको शेयर मूल्य समेत प्रतिकित्ता ३१ रुपैयाँ बढेको छ। दोस्रो उच्च् कारोबार भएको शिवमको १३ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको खरिदबिक्री भएको छ। जसको पनि शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेको छ ।

एनआइसी एसियाको ६ करोड ८३ लाख बराबरको शेयर किनबेच भएको बजारमा प्रभु बैंक, नेपाल लाइफ, नेपाल बैंक र कुमारी बैंकको पनि चार करोड बढीको शेयर किनबेच भयो।

सबैभन्दा धेरै महिला सहयात्रा लघुवित्तको शेयर मूल्य २.६८ प्रतिशतले घटेको छ । यसदिन अरुण काबेली, नेशनल हाइड्रो लगायत १५ कम्पनीको शेयर मूल्य घटेको छ।

कारोबार भएको शेयर कित्ताका आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै २ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ । प्रभु र कुमारी बैंकको पनि २ लाख बढी शेयर खरिदबिक्री भएको हो। कुमारी, एनसीसीबि, नेपाल बैंक, सेन्चुरी, एनआईसि एशिया, प्राइम तथा सिभिल बैंक लगायतको धेरै कित्ता शेयर किनबेच भएको छ।