राष्ट्रियस्तरका चार विकास बैंकको प्राथमिक पुँजी कोष दबाबमा, सबैभन्दा कमजोर मुक्त्तिनाथ

0
Shares

राष्ट्रिय स्तरका चार विकास बैंकहरुमा पनि प्राथमिक पुँजीकोष दबाबमा देखिएको छ । सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंक मध्ये ४ बैंकको प्राथमिक पुँजीकोष अनुपात नियामकीय सीमा नजिक आएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि राष्ट्रियस्तरका विकास बैंकले पनि क्यापिटल एडिक्वसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागु गरेको छ । सो अनुसार विकास बैंकको प्राथमिक पुँजीकोष अर्थात टियर वान क्यापिटल जोखिम भारीत सम्पत्तिको ८.५ प्रतिशत हुनु पर्छ । त्यसैगरी कुल पुँजीको अनुपात (कोर क्यापिटल र सप्लीमेन्ट्री क्यापिटल गरेर) ११ प्रतिशत हुनु पर्छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनका लागि भन्दै गत साउन १२ गर्ते निर्देशन जारी गर्यो । उक्त निर्देशक अनुसार राष्ट्रियस्तरका विकास बैंकले पनि कुल न्यूनतम पुँजी कोष ११ प्रतिशत र प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गर्यो । सो व्यवस्था अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देखि नै क्यापिटल एडिक्वयसी फ्रेम वर्क २०१५ कार्यन्वयन गर्नुपर्छ ।

केन्द्रीय बैंकले प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनु पर्छ भनेर तोकेपछि सो अनुसार कायम गर्नै पर्ने राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए । “विकास बैंकलाई लागु गरेपछि मात्रै नभई त्यसमा अघि पनि क्यापिटल एडिक्वसी फ्रेम वर्क २००७ र २०१५ दुबै अनुसार कायम गर्न भनिएको थियो,” उनले भने,“लागु गरीसकेपछि त्यसलाइ पुरा गर्नै पर्ने हुन्छ ।” अहिले तोकिएको सीमा मै देखिएको भएपनि अनसाइट सुपरभिजन गएको समयमा कुनै जोखिम व्यवस्था थप गर्नु परेको खण्डमा अहिलेको देखिएको पुँजी कोष अनुपात थप घट्न सक्ने उनले बताए । त्यस्तो अवस्थामा पुँजी कोष अनुपात कायम नगर्दा कारबाही हुने जानकारी उनले दिए ।

सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंक मध्ये मुक्त्तिनाथ, कामना सेवा, ज्योती र साग्रीला विकास बैंकको प्राथमिक पुँजी कोष नियामकीय सीमाको बरीपरि छ । यी बैंकहरुले कर्जा नघटाएको खण्डमा नयाँ कर्जा लगानी समेत गर्न सक्ने अवस्था देखिदैन । तर, साइनरेसुङगा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनीको भने केही सहज अवस्थामा रहेको देखिन्छ।

राष्ट्रियस्तरका विकास बैंक मध्ये प्राथमिक पुँजीकोषको हिसाबले साइन रेसुङगा डेभलपमेन्ट बैंक सबैभन्दा सहज अवस्थामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा साइनको प्राथमिक पुँजी कोष अनुपात ११.७१ प्रतिशत रहेको छ । त्यसैगरी गरिमा विकास बैंकको १०.३१, महालक्षमी विकास बैंकको १०.४ र लुम्बिनी विकास बैंकको ९.३३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी प्राथमिक पुँजी कोष नियामकीय सीमा वरीपरी रहेका बैंकहरुमा मुक्त्तिनाथ विकास बैंकको ८.६७, कामना सेवाको ८.६८, ज्योती विकास बैंकको ८.७९ र साग्रीला डेभलपमेन्ट बैंकको ८.८२ प्रतिशत रहेको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरु मध्ये प्राथमिक पुँजी कोषको हिसाबमा सबैभन्दा धेरै दबाबमा मुक्त्तिनाथ विकास बैंक रहेको छ । केन्द्रीय बैंकले अनसाइट सुपरभिजन गर्दा थप प्रोभिजनिङ गर्न परेको खण्डमा बैंकको प्राथमिक पुँजी कोष अनुपात नियामकीय सीमा भन्दा तल आउने निश्चित छ । त्यसका लागि बैंकले नयाँ कर्जा दिने अवस्था छैन भने प्रबाह गरेको कर्जा पनि घटाउनु पर्ने देखिन्छ । प्राथमिक पुँजी कोष वृद्धि गर्न तत्कालका लागि कर्जा घटाउन जस्तो सहज भने देखिदैन । केन्द्रीय बैंकले हकप्रद सेयर जारी गर्न रोकेको अवस्था छ ।

प्राथमिक पुँजी कोषको सीमा नपुर्याउने संस्थाले लाभाशं वितरण गर्न पाउदैन । त्यसैगरी पुँजी कोष अनुपात भनेको संस्थाको जोखिम बहन क्षमता पनि भएकाले सीमा भन्दा निकै तल आएको खण्डमा केन्द्रीय बैंकले सम्बन्धीत संस्थाको व्यवस्थापन नै लिनेसम्मको कारबाही हुने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।