सिटिजन्स बैंकले ऋणपत्र बिक्रीबाट ३ अर्ब जुटाउने

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र बिक्री गरेर ३ अर्ब रुपैयाँ दीर्घकालीन स्रोत संकलन गर्ने भएको छ । बैंकले दश वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।

प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नका लागि बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । बैंकले माघ १२ गते शुक्रबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

धितोपत्र बोर्डले ऋणपत्र बिक्रीको स्वीकृतिपछि बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ जारी गर्नेछ । बैंकको ऋणपत्रका लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन् ।

सिटिजन्स बैंकले बिक्रीमा ल्याउने अंकित मूल्य १ हजार रुपैयाँ दरका कुल ३० लाख इकाइ ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ भने १८ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड ठमेल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।