बर्दियामा १ अर्ब ६८ करोड लगानीमा चिनी उद्योग निर्माण हुँदै, २०२५ देखि सञ्चालन हुने

0
Shares

पश्चिम नेपालको बर्दिया जिल्लामा राजापुर सुगर एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको निर्माण भइरहेको छ ।

कुल १ अर्ब ६८ करोड ६८ लाख लगानीमा बर्दियाको राजापुरमा चिनी उद्योग निर्माण हुने भएको हो ।

उद्योग स्थापनाका लागि आवश्यक रकम कर्जामा आधारित रहेको छ । कुल लागतको ८० प्रतिशत रकम कर्जामा आधारित छ । निर्माण कम्पनीले १ अर्ब ५३ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई सो रकम बराबरको कर्जाका लागि बी रेटिङ गरेको छ ।

निर्माणाधीन उद्योग सन् २०२५ को जुलाई महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कम्पनीको चिनी उत्पादन क्षमता प्रतिदिन २ हजार ५०० मेट्रिक टन रहेको छ । चिनीका साथै कम्पनीले मोलासेस, बागासे र प्रेस मड समेत उत्पादन गर्नेछ ।

उक्त उद्योग यज्ञ बहादुर ओली र उनकी श्रीमतीको लगानीमा निर्माण हुँदै छ । यज्ञ बहादुर ओलीले देउती गुट्खा इन्डष्ट्रिज, देउती प्याकेजिङ, देउती सप एन्ड केमीकल्स, लोटस टोबाको इन्डष्ट्रिज, होटल मेघा र देउती रियल स्टेट लगायतका कम्पनीहरुका अध्यक्ष रहेका छन् ।

यस चिनी उद्योगले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा चिनीको आपूर्ति सहज बनाउने विश्वास गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।