लबिम मलको व्यापार २१ प्रतिशतले बढ्यो, वार्षिक कारोबार साढे ३४ करोड

0
Shares

ललितपुरको पुल्चोकमा अवस्थित ललितपुर विशालबजार मल्टिप्लेक्स कम्पनी प्रालि (लबिम मल) ले आर्थिक वर्ष २०२३ मा ३४ करोड ५५ लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२२ मा २८ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । आव २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी ६ करोड ४ लाख अर्थात् २१.१८ प्रतिशतले बढेको हो ।

कम्पनीको वार्षिक आम्दानीमा आएको सुधारसँगै ह्रासकट्टी, अर्मोटाइजेशन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ६९ प्रतिशत रहेको छ । जुन आव २०२२ मा ६४ प्रतिशत थियो ।

लबिम मलको अकुपेन्सीमा भएको वृद्धि र त्यहाँ अवस्थित आउटलेटहरुले बिक्री गर्ने सामाग्रीहरुमा मानिसहरुको विश्वसनीयता भएकाले पनि मानिसहरुको चाप बढेको देखिन्छ । कुल १ लाख ९१ हजार वर्गफीट जग्गामा निर्माण भएको सो मलमा हाल १५० बढी पसलहरु रहेका छन् । सन् २०२३ मा मलको अकुपेन्सी दर ९५ प्रतिशत थियो । सन् २०२२ मा मलको अकुपेन्सी दर ९३ प्रतिशत थियो । अकुपेन्सी दरमा भएको वृद्धि र भाडादर बढ्दा कम्पनीको नाफा बढेको छ ।

यस्तै लबिम मलमा प्रख्यात सिनेमा थिएटर–क्युएफएक्स समेत छ । जसकारण ललितपुर र आसपासको क्षेत्रका मानिसहरु फिल्म हेर्न मल जाने गरेका छन् । यसरी कम्पनीको आम्दानी वार्षिक रुपमा बढ्दै गएको छ ।

कम्पनीले ८१ करोड २२ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७३ करोड ७५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ७ करोड ४७ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीमा चार व्यक्तिहरुको लगानी रहेको छ । राजेश कुमार सिद्धीको ३७ प्रतिशत, नकीम उद्दीनको २६ प्रतिशत, भास्कर ढुङ्गानाको २० प्रतिशत, रेशु अर्याल ढुङ्गानाको १७ प्रतिशत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेश कुमार सिद्दी रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।