द्विपक्षीय व्यवसायीक सम्बन्ध विस्तार गर्न परिसंघ र जर्मन व्यवसायीक संघबीच समझदारी

0
Shares

नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यवसायीक संघ (बीभीएमडब्ल्यू) बिच दुई द्विपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।

समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरूबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए । उनले नेपाल र जर्मन एसएमइज् बीचको सहकार्यले दुबै राष्ट्रको विकासमा टेवा पु–याउने र समृद्धितर्फ डो–याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यवसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए । उनले दुवै देशका साना तथा मझौला उद्योगहरूबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्न समेत यसले उल्लेख्य योगदान गर्ने बताए।

बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरू खोज्ने रहेको बताए ।

सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।