मौद्रिक नीतिको समीक्षाको पर्खाईमा लगानीकर्ता, तीन अर्ब माथिको कारोबार

0
Shares

सेयर बजार परिसूचक नेप्स वृद्धिले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । आइतबारको गिरावटपछि सोमबारदेखि बजार सूचक निरन्तर बढ्दै आएको छ । बिहीबार पनि सूचक ५.५७ अंकले बढेर बन्द भएको छ । यसदिन दैनिक कारोबार रकम पनि ३ अर्ब रुपैयाँ नाघेको छ ।

यद्यपी बजारका लगानीकर्ता राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खेको देखिन्छ । राष्ट्र बैंक बोर्डले पारित गरेको खण्डमा माघ महीनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ । बोर्डले सेयर बजारप्रति लिने नीतिका आधारमा बजारमा लगानी बढाउने वा घटाउने कस्तो रणनीति अंगिकार गर्ने भन्नेमा लगानीकर्ता देखिएका छन् ।

नेप्से बिहीबार ०.२७ प्रतिशतले बढेर २०९६.३८ को विन्दुमा कायम भएको छ । त्यसैगरी, यसदिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । यसअघि नेप्से बुधबार ४.९२ अंक, मंगलबार ९.४४ र सोमबार १४.५७ अंकले बढेको थियो । आइतबार भने नेप्से ५.३१ अंकले घटेको थियो ।

बिहीबार ३१७ कम्पनीका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर ६७ हजार २७३ ओटा सङ्ख्यामा किनबेच भएका छन् । दिनभरमा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन बुधबार दैनिक कारोबार रकम २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँ थियो ।

कारोबारमा आएाक १३ उपसमूहगत सूचकमध्ये बुधबार ९ ओटा बढेको छ भने ४ ओटा घटेको छ। बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फन्ड र अन्यको सूचक सामान्य घटेका छन् । जलविद्युत उपसमूहगत सूचक सर्वाधिक १.४४ प्रतिशत र ब्यापार १.१२ प्रतिशतले बढेको बाँकी समान्य बढेका छन् ।

पछिल्लो समय कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहँदै आएको छ ।सर्वाधिक कारोबार भएको कम्पनीको १८ करोड ८७ लाख ९० हजार रुपैयाँको २ लाख ७३ हजार २०० कित्ता सेयर ५ हजार ४८२ ओटा संख्यामा खरिद बिक्री भएको छ । यस्तै चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख, अपि पावरको ७ करोड ७५ लाख, ङादी ग्रुप पावरको ७ करोड ३० लाख, र एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको ६ करोड ९२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आजको बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यसदिन समाज लघुवित्तको १० प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ९.९९ र त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । यस्तै मायाखोला हाइड्रोपावरको ७.७८, श्वेतगंगा हाइड्रोपावरको ७.४९, इङ्वा हाइड्रोपावरको ७.३६, कर्पोरेट डेभलपमेन्ट बैंक ७.३२, दोर्दीखोला ६.७५, किसान लघुवित्त ६.९४ र राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको ६.७५ प्रतिशतले सेयरको भाउ बढेको छ ।

बिहीबारको बजारबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीले ९.९७ प्रतिशत, आरबिबि म्युचुअल फन्ड–१ को ५.५३ प्रतिशत, गणपति हाइड्रोपावरको ३.६६ प्रतिशत, मकर जितुमाया सुरी ३.५९ र एनआईसी एशिया ग्रोथ फन्डको ३.५७ प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९५ अर्ब २४ करोड २६ लाख २६ हजार रुपैयाँमा समेटिएको छ । मंगलबार ३२ खर्ब ८६ अर्ब ३० करोड ८४ लाख थियो । बुधबार मात्रै ८ अर्ब ९३ करोड ४२ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।