सोनापुर मिनरल्स एण्ड आयल करिब १५ करोड नोक्सानीमा

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पुस मसान्तसम्म १४ करोड ७८ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको आम्दानी घटेपछि कम्पनी नोक्सानी पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री आय ५९.२१ प्रतिशत घटेर ७० करोड ५६लाख ९८ हजारमा झरेको छ । गत आवको पुसससम्ममा कम्पनीले १ अर्ब ७३ करोड १ लाख ५७ हजार रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो । देशभित्र विकास निर्माण र पुर्वाधारका काममा मन्दी छाउँदा कम्पनीको सिमेन्टको बिक्री आधाभन्दा बढीले घटेको हो ।

कम्पनीले नाफा घट्ने कारणमा विगत समयदेखि इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैंक व्याजदर, भौतिक विकाश निर्माणमा बजेट खर्च कम हुनु, विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादुनले उचित बजार मूल्य पाउन नसकेकोलाई औंल्याएको छ । तथापी सिमेन्ट कम्पनीले विद्यमान ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफ्नो बजार विस्तार गर्ने नीति लिएको जनाएको छ । साथै संस्थालाई अल्पकाल तथा दिर्घकालमा प्रभाव पार्न सक्ने राष्ट्रिय तथा अन्तर्राट्रिय घटना तथा परिवेशको उच्च व्यवस्थापन द्वारा सूक्ष्म अध्ययन तथा विश्लेषण गरी सोही बमोजिमको आवश्यक निति तर्जुमा गरी सोको कार्यान्वयनद्वारा संस्थालाई प्रतिकुल प्रभावबाट संरक्षण गर्ने निति लिईएको जनाएको छ ।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख २३ हजार रुपैयाँ सञ्चित छ । १३७ रुपैयाँ प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री गरेर रकम उठाएपछि कम्पनीको जगेडा कोषको आकार १८७ प्रतिशतले बढेको हो । कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गरे वापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ संकलन गरेको थियो । कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा सेयर बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलको कार्यालयमा असोज १४ गते बुधबार बिहान साढे ९ बजे सेयर बाँडफाँड भएको थियो । 

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा ऋणात्मक छ । यस्तै प्रति सेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

समीक्षा अवधिमा कुल नाफा ७७.०८ प्रतिशत घटेर ९ करोड ५१ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । यस्तै सञ्चालन मुनाफा १ करोड १४ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ । गत आर्थिक वर्षको यसै अवधिमा सञ्चालन मुनाफा २५ करोड ७३ लाख ३५ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत आवको पुसमा २३ करोड ६ लाख ६६ हजार रहेकोमा ३६.७९ प्रतिशत घटेर १४ करोड ५८ लाख २३ हजार रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।