रिलायन्स स्पिनिङ मिल्सले सेबोनसँग माग्यो आईपीओ बिक्री अनुमति, ८२० रुपैयाँ ८० पैसामा आउने

0
Shares

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माघ २३ गते सेबोनमा निवेदन दिएको हो । यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्तालाईलाई निष्कासन गरिएको सेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएपछि कम्पनीले त्यसको १० प्रतिशत कम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्न निवेदन दिएको हो ।

सुनसरीको दुहबी र खनारमा औद्योगिक कारखाना रहेको कम्पनीमा गोल्यान ग्रुपका पवन गोल्यान यस कम्पनीका कार्यकारी अध्यक्ष छन् । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादनलाई टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको उद्योगले ४ हजार ३०० जना बढीलाई रोजगारी दिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्साल रहेको छ ।

सर्वोत्तम सिमेन्टले यसअघि नै बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न पहिलो कम्पनीको रुपमा अनुमति पाइसकेको छ । कम्पनीले प्रतिसेयर ३६० रुपैयाँ ९० पैसाका दरले वैदेशिक रोजागारीमा रहेका नेपाली र स्थानीय बासिन्दाका लागि आईपीओ बिक्रीमा ल्याइसकेको छ । सर्वसाधारणमा भने जारी हुन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।