गोयङ्का परिवारको लगानी रहेको घराना फुड्सको ६ महिनाको आम्दानी ७० करोड बढी


व्यापारिक घराना गोयङ्का ग्रुपको पारिवारिक लगानी रहेको घराना फुड्स प्रालिले चालु आवको ६ महिनामा ७० करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आवमा १ अर्ब ८२ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ६ महिनाको आम्दानीसँग गत आवको सोही अवधिको आम्दानीलाई तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी २२.९५ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटसँगै ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफामा पनि गिरावट आएको छ । गत आवमा सो नाफा कुल सञ्चालन आम्दानीको ७.४ प्रतिशत थियो भने चालु आवको पुस महिनासम्म ६.२ प्रतिशतमा खुम्चिएको छ ।

सन् २००८ मा स्थापना भएको घराना फुड्स प्रालिले गहुँको प्रशोधनको गरी आटा, मैदा, चना प्रशोधन गरी चनाको सातु, पीठो, सुजी लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । कम्पनीले ‘घराना’ ब्रान्डबाट आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको स्थापना गोयङ्का परिवारका विनय कुमार गोयङ्का, श्रीचन्द गोयङ्का र गोविन्द प्रसाद गोयङ्काले गरेका थिए । हाल कम्पनीमा विनय कुमार गोयङ्का र उनका भाइ विकास गोयङ्काको लगानी रहेको छ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा कम्पनीको उत्पादन प्लान्ट रहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ हजार २२० मेट्रिक टन छ ।

कम्पनीले ७५ करोड ५० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १८ करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ५७ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ पुनपुष्टि गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।