चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त संस्थाहरुको नियामकीय परिपालना सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकको गैर स्थलगत सुपरिवेक्षण अनुसार खराब कर्जा बढेको भएपनि नियामकीय परिपालनालाइ पूर्ण रुपमा अनुसरण गरेको देखिएको हो ।
चालु आर्थिक वर्षको पुससम्ममा तीन लघुवित्त वित्तीय संस्था केन्द्रीय बैंकको कारबाहीमा परेका छन । ती संस्था पहिल्यै देखि समस्यामा रहेका थिए । केन्द्रीय बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्छ । सो अवधिमा सुपर लघुवित्त वित्तीय संस्था र श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको पुँजीकोष ८ प्रतिशत भन्दा कम छ । दुबै संस्थालाइ केन्द्रीय बैंकले कारबाही गरेको जनाएको छ ।
२०८० पुस मसान्तसम्ममा ५७ वटा लघुवित्त सञचालनमा छन । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु हुन । चालु आवको पुससम्ममा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ । त्यसैगरी केन्द्रीय बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा ह्रास आएको केन्द्रीय बैंकले जनाएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाहरूले ४८ अर्ब ३६ करोड वित्तीय स्रोत संकलन गरेका छन् । जुन २०८० असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमासिक अवधिमा वित्तीय स्रोत संकलनमा ५.५७ प्रतिशतले वृद्वि भएको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । २०८० पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँंजीको ४.६४ गुणा रहेको छ ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत/निक्षेप र सापटी रकम बढाएका छन् । २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत÷निक्षेप संकलन १ खर्ब ६७ अर्ब ६४ करोड र सापटी १ खर्ब ७५ अर्ब ८३ करोड गरी जम्मा ३ खर्ब ४३ अर्ब ४७ करोड वित्तीय स्रोत संकलन गरेका छन् । कुल वित्तीय स्रोत संकलन रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० को दोस्रोत्रयमासमा ०.३० प्रतिशतले घटेकोमा यस आर्थिक वर्षको दोस्रो त्रयमासमा भने ४.५३ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पूँजीको ७.६६ गुणासम्म पुगेको छ। प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।
२०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा ५४ अर्ब ८ करोड पुगेको छ । सो अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम २६ करोड रुपैयाँ छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ । यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड रहेको छ । थोक र खुद्रा लघुवित्त वित्तीय संस्थाको कुल निष्क्रिय कर्जा ३० अर्ब ११ करोड रुपैयाँ बराबरको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड रुपौयँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रोत्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३५.६२ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७०.२२ प्रतिशतले बढेको थियो
२०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जा र लघु व्यवसाय कर्जाको अंशमा ह्रास आएको छ । २०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १९.७९ प्रतिशत रहेको छ । यस्तो अनुपात २०८० असार मसान्तमा २०.४८ प्रतिशत रहेको थियो । लघु व्यवसाय कर्जाको अंश पनि २०८० असारमा ७२.०७ प्रतिशत रहेकोमा २०८० पुसमा ७१.५३ प्रतिशत पुगेको छ ।
२०८० पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ६.८५ प्रतिशत रहेको देखिन्छ । साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ३.३९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ । २०८० पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले २१ अर्ब ९० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन् । उक्त रकम कुल बाँकी कर्जाको ४.९८ प्रतिशत र निष्कृय कर्जाको ७२.७४ प्रतिशत हो ।
चालु आवको दोस्रो त्रैमासमा केन्द्रीय बैंकले सुपर लघुवित्तलाइ पुँजीकोष, बैंधानिक तरलता र अनिवार्य मौज्दात पुरा नगरेकोमा कारबाही गरेको छ । त्यसैगरी सृजनशिल लघुवित्तलाई पुँजी कोष अनुपात नपुर्याएको र समाज लघुवित्तलाई अनिवार्य मौज्दात कायम नगरेको भन्दै कारबाही गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया