नेपालका व्यवसायको विकास तथा प्रवर्द्धनका लागि बेलायतको पौने १२ अर्ब अनुदान

0
Shares

नेपालका व्यवसायको विकास तथा प्रवर्द्धनका साथै हरित विकास वृद्धिका लागि बेलायतले नेपाललाई ११ अर्ब ७२ करोड अर्थात् ७ करोड पाउन्ड स्ट्रलिङ अनुदान दिएको छ ।

मंगलबार बेलायतले नेपाल इन बिजनेस (एनआइबी) कार्यक्रम र ग्रीन ग्रोथ नेपाल कार्यक्रमका लागि दुई फरक शीर्षकमा ११ अर्ब ७२ करोड बढी रकम अनुदान दिएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र बेलायतका तर्फबाट ब्रिटिस दूतावास नेपालकी विकास निर्देशक पिप्पा बर्डले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एनआइबी कार्यक्रम अन्तर्गतको अनुदानले नेपालमा व्यवसाय विस्तार गर्न, रोजगारी सिर्जना गरी गरिबी अन्त्य गर्न र आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नेछ । यस कार्यक्रम अन्तर्गतको अनुदान रकम नेपालका साना तथा मझौला उद्योगहरुको सुदृढीकरण गरी उत्पादकत्व वृद्धि गर्न र नेपालमा व्यवसाय सञ्चालनका लागि वातावरण सिर्जना गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

यस्तै ग्रीन ग्रोथ नेपाल अन्तर्गतको अनुदान रकमले नेपालमा जलवायु स्मार्ट पूर्वाधार विकास गर्न, स्वच्छ उर्जा उत्पादनमा लगानी बढाउन सहयोग गर्नेछ । अनुदान रकमले नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने र जलवायु वित्त परिचालन गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

यसै सन्दर्भमा बेलायत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले बेलायतको यो सहयोगले नेपाललाई गरिबीको अन्त्य गरीआर्थिक वृद्धि हासिल गर्न सहयोग गर्ने र ग्रीन फाइनान्सीङ, ग्रीन डेभलपमेन्टका लागि सहयोग गर्ने बताए ।

यी दुई कार्यक्रमका लागि प्राप्त भएको रकम सात वर्ष अवधिमा प्रयोग गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।