काठमाडौँ । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोेरखाका इन्जिनियर कुमार लामिछाने ।
काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक १५ लाख रुपैयाँ आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन् ।
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएका हुन् ।
उनले १० करोड रुपैयाँ लगानीसहित मासिक १ लाख रुपैयाँको दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए। सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् ।
“इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनले भने ।
इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान ९डिडिसी० र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए ।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर १७० रुपैयाँ र गाईको १०० रुपैयाँ छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ ।उनको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् ।
दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँ आम्दानी हुँदै आए पनि खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उनको भनाइ छ ।








