क्रयशक्ति कमजोर हुँदा सुन आयात घट्यो, गहना आयात बढ्यो, निर्यात घट्यो

0
Shares

चालु आर्थिक वर्षको सात महिनामा १६ लाख ४२ हजार २६६ ग्राम सुन आयात भएको छ । गत वर्षको सोही महिनाको अवधिमा सुन आयात १९.९६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २० लाख ५१ हजार ८३८ ग्राम सुन आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म १३ अर्ब ७७ करोड ८ लाख ३४ हजार रुपैयाँ बराबरको १६ लाख ४२ हजार २६६ ग्राम सुन आायत भएको हो । उक्त सुन ल्याए वापत २ अर्ब ६ करोड ९८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, गत आर्थिक वर्ष (२०७९/८०)को सोही अवधिमा ३१ अर्ब २ करोड ७५ लाख ५१ हजार रुपैयाँ बरारबको २० लाख ५१ हजार ८३८ ग्राम सुन आयात गरिएको थियो । गत आर्थिक वर्षको सात महिनाको अवधिमा १ अर्ब ७७ करोड ९८ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भाउ महंगिदै जाँदा सुनको क्रयशक्तिमा कमजोर भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । आर्थिक गतिविधि चलायमान नहुँदा सुनको आयात घटेको उनको भनाई छ ।

फागुन १० गते बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । गत वर्षको सोही अवधिमा छापावाला सुनको भाउ १ लाख ३ हजार रुपैयाँ तोकिएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सुनको गहना आयातमा भने वृद्धि भइको छ । चालु आवमा २७ हजार ८७४ ग्राम सुनका तयारी गहना आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७ हजार १८४ ग्रामले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा २० हजार ७०० ग्राम सुनका तयारी गहना आयात भएको थियो ।

यता, नेपालले सात महिनाको अवधिमा २ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको ३ हजार १२८ ग्राम सुनका गहना निर्यात गरेको छ । गत आर्थिक वर्ष नेपालले १ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको ११ हजार ६३० ग्राम सुनका गहना निर्यात गरेको थियो । नेपालले विषेशगरी अष्टेलिया र अमेरिकामा सुनका गहना निर्यात गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।