उड्ययन प्राधिकरणले भन्योः– ‘धरानमा विमानस्थल निर्माण सम्भव छैन’

0
Shares

धरानमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सम्भाव्यता अध्ययन गरेर एयरपोर्ट निर्माण असम्भव रहेको निष्कर्ष निकालेको हो ।

प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययनले प्राविधिक र सञ्चालन अवरोधलाई कारण देखाउँदै विमानस्थल निर्माण गर्न असम्भव रहेको बताएको हो ।

विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरित हुने प्राधिकरणले जनाएको छ । ‘त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव भएकाले हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा सञ्चालन अवरोधका कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउनुपर्ने जोड दिँदै आएका छन् । उनैको पहलका कारण प्राधिकरणले सम्भाव्यता अध्ययन गरेर एयरपोर्ट निर्माण असम्भव रहेको निष्कर्ष निकालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।