माघमा ३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, मर्जरका कम्पनीलाई उछिन्दै शिखर पहिलो

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले माघ महीनामा २ अर्ब ९९ करोड ६२ लाख ६५ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका चौध कम्पनीले २ लाख ५० हजार ३० ओटा बीमालेख बिक्रीबाट उक्त रकम संकलन गरेका हुन् ।

माघमा संकलित रकम अघिल्लो आवको सोही महीनाको तुलनामा ०.५३ प्रतिशत अर्थात १ करोड ५७ लाख ८५ हजार रुपैयाँले धेरै हो । २०७९ माघमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १८ कम्पनीले रुपैयाँ कुल २ अर्ब ९८ करोड ४ लाख ८० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सो अवधिमा कम्पनीहरुले २ लाख ४१ हजार २५१ ओटा बीमालेख बिक्री गरेका थिए ।

२०८० पुसमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ३ अर्ब ६७ करोड ५० लाख ६ हजार रहेको थियो । पुसको तुलनामा माघमा ६७ करोड ८७ लाख ४१ हजार रुपैयाँ(१८.४७%) ले घटेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले माघ महीनामा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय विस्तार गरेको छ । मर्जरमा गएका ६ ओटा कम्पनीलाई उछिन्दै शिखर पहिलो स्थान सुरक्षित गरेको हो । यसअघि सगरमाथा लुम्बिनीले सर्वाधिक व्यवसाय गर्ने गरेकोमा माघमा कम्पनी दोस्रो पोजिशनमा छ । शिखर इन्स्योरेन्सले माघमा ४४ करोड ४८ लाख ९२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस अवधिमा शिखरले माघमा २८ हजार १९० ओटा बीमालेख बिक्री गरेको छ ।

यसैगरी सगरमाथा लुम्निी इन्स्योरेन्सले माघमा ३२ करोड ४९ लाख ७३ हजार रुपैयाँ प्रिमियम उठाएको छ । सलिकोले माघमा २४ हजार ३८२ ओटा बीमालेख बिक्रीबाट सो रकम संकलन गरेको हो । यस्तै तेस्रो स्थामा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माघमा २५ हजार ९० ओटा बीमालेख बिक्रीबाट २९ करोड ७२ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।

माघको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा कम्पनीले २८ करोड ७१ हजार, आईजीआई प्रुडेन्सियलले २७ करोड ८२ लाख ९८ हजार, नेको इन्स्योरेन्सले २६ करोड १२ लाख ५७ हजार र यूनाइटेड अजोडले माघमा २१ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरका १७ हजार ५२१ ओटा बीमालेख बिक्री गरेको छ ।

बाँकी ७ कम्पनीको माघमा बीमाशुल्क संकलन २० करोडभन्दा कम रहेको छ । यस अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले १९ करोड ८९ लाख ७४ हजार रुपैयाँ संकलन गर्दा हिमालयन एभरेष्टले १९ करोड १३ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ । माघ महीनामा एनएलजी इन्स्योरेन्सले १८ करोड २९ लाख ८६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १२ करोड ३४ लाख ६६ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ११ करोड ५० लाख ६८ हजार र नेशनल इन्स्योरेन्सले ८ करोड ८९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ ।

सबैभन्दा कम बीमाशुल्क दि ओरियन्टल इन्स्योरेन्सले संकलन गरेको छ । माघमा कम्पनीले ३ हजार ५४२ ओटा बीमालेख बिक्री गरेर १९ लाख ३४ हजार मात्र संकलन गरेको तथ्याङ्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।