धितोपत्र बोर्डले यो वर्षमा अध्यक्ष नपाउने

0
Shares

नेपाल धितोपत्र बोर्डले यो वर्ष नेतृत्व नपाउने करिब निश्चित भएको छ । बोर्डको अध्यक्ष सिफारीसका लागि गठित समितिले मंगलबार मात्र कार्यविधि तयार गरेपछि यो वर्षमा नियुक्ती नहुने भएको हो ।

सरकारले गत माघ ३ गते योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारीस समिति गठन गरेको थियो। सरकारले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि सिफारीस समिति गठन गरेको थियो ।

समितिले मंगलबार तयार गरेको कार्यविधि अनुसार सार्वजनिक सूचना प्रकासीत गरी १५ दिनको म्याद राखेर आवेदन माग हुनेछ । समितिले कार्यविधि बनाएपछि आवेदनको माग कहिले गर्ने टुङगो लगाएको छैन । त्यसका साथै आवेदन आह्वान गरेपछि पनि आवेदनकै लागि १५ दिन पर्खनु पर्ने हुन्छ । त्यसपछि आवेदकलाई ४ आधारमा मूल्याङकन गरिनेछ । आवेदनकको व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि योग्य ३ उमेदवारको नाम सरकारलाइ सिफारीस गर्नेछ । सरकारले तीनै तीन मध्ये एकलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ । यो सबै प्रक्रिया पुरा गर्दा यो वर्षमा धितोपत्र बोर्डले नेतृत्व नपाउने निश्चित देखिन्छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्न गठन भएको समितिले कार्यविधि बनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम अध्यक्षको शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्छ ।

कार्यविधि अनुसार कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनु पर्छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको हुनु पर्छ ।

त्यसैगरी दामासाहीमा नपरेको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको हुनु पर्छ । अध्यक्षको पदका लागि आवेदन दिन विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको, नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको व्यक्ति हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।