सिंगटी हाइड्रोको हकप्रदमा २२ गतेसम्म मात्र आवेदन दिन पाइने, कतिले भरे ?

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शतप्रतिशत हकप्रदमा फागुन २२ गते मंगलबारसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले फागुन २ गते बुधबारदेखि १ः१ अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँको सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो ।

फागुन १६ गते बुधबारसम्ममा सिंगटी हाइड्रोको हकप्रदमा ६० हजार १८९ जना सर्वसाधारण लगानीकर्ताले १६ लाख ९४ हजार ४३७ कित्ता सेयर खरिदका लागि १६ करोड ९४ लाख ४३ हजार ७०० रुपैयाँ बराबरको सेयर माग भएको हो । कम्पनीले यसअघि नै आधारभूत सेयरधनीहरुबाट हकप्रद वापतको रकम संकलन गरिसकेको छ । कम्पनीमा ३० प्रतिशत बराबरको ४३ लाख ५० हजार कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ भने ७० प्रतिशत हिस्सा संस्थापकको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सक्ने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।