प्याज आयात दोब्बरले घट्यो, खुल्ला सीमानाको फाइदा उठाउँदै व्यापारी

0
Shares

चालु आर्थिक वर्ष (२०८०/८१) को सात महिनामा प्याज आयात दोब्बरले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्याज आयात दोब्बरले घटेको हो।

भारतले प्याज निर्यातमा प्रतिबन्द्ध लगाएसँगै तराईका केहि जिल्लाहरुले भन्सारको बाटो छल्दै खुल्ला सिमानाको फाईदा उठाई प्याज आयात गरिरहेकोले प्याजको आयात घटेको आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले बताए ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले मंसिर २१ गतेदेखि प्याज आयातमा प्रतिवन्ध लगाएको थियो । भारतले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको हो । यद्यपी, भारतले अहिले भने नेपाल सरकारले चाहेमा जीटुजी पक्रियामार्फत प्यात आयात गर्न सकिने व्यवस्था गरेको छ ।

भ्याट शुल्क, भन्सार शुल्क छल्दै व्यापारीहरुले लुकिछिपी भारतबाट अवैध बाटो हुँदै प्याज आयात गरिरहेकोले नै भन्सारको तथ्यांकमा आयात घटेको जस्तो देखिएको उनको भनाई छ ।

सरकारले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न र भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाएको थियो । तर त्यसको फाइदा व्यापारीहरुलाई भएको महासचिव गजुरेल बताउँछन् ।

चालु आर्थिक वर्ष (२०८०/८१) को सात महिनामा १ अर्ब ९४ करोड ४४ लाख ३९ हजार रुपैयाँ बराबरको ४ करोड ६६ लाख ८५ हजार ४९५ केजी ताजा वा चिसो प्याज आयात भएको छ । जुन गत वर्षको भन्दा १.९३ गुणाले कम हो । गत आथिक वर्षमा ३ अर्ब ७३ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको १० करोड २२ लाख ७४ हजार ७७० केजी प्याज आयात भएको थियो ।

यता, ताजा वा चिसो प्याज आयातबाट गत वर्ष ३९ करोड २८ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षमा ४ लाख ८२ हजार १ रुपैयाँ राजस्व संकलन भएको छ । अहिले तरकारी तथा फलफूलको मुख्य व्यापारिक केन्द्र कालिमाटीमा दिनहुँ औसतमा ८६ हजार किलो प्याज आयात भएको छ ।

यस्तै, चालु आर्थिक वर्ष (२०८०/८१) को सात महिनामा ४ करोड ७२ लाख ९४ हजार रुपैयाँ बराबरको २ लाख ८९ हजार ४८६ किलो सुकेको प्याज आयात भएको छ । यो गत वर्षको तुलनामा दोब्बरले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको ११ लाख ४८ हजार २९९ किलो प्याज आयात भएको थियो ।

यता, चालु आर्थिक वर्षमा सुकेको प्याज आयातबाट राजस्व संकलनमा भने वृद्धि भएको छ । गत आर्थिक वर्षमा ९४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन हुँदा चालु आर्थिक वर्षमा १ करोड १९ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, चालु आर्थिक वर्षमा ३२ लाख २३ हजार रुपैयाँ बराबरको १४ लाख ४३ हजार किलो प्याजको बिउ आयात भएको छ । जुन गत वर्षको भन्दा २.२७ गुणा बढी हो । गत आर्थिक वर्षमा ६ लाख ३५ हजार रुपैयाँ बराबरको १ हजार ३१५ किलो प्याज आयात भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।