बैंक वित्तीय संस्थाका कर्मचारीले आगामी वर्ष ४५ दिन विदा पाउने, ३७ शीर्षकमा विदा तोकियो

0
Shares

सरकारले सार्वजनिक विदाको अन्तिम टुंगो लगाएसँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि विदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन विभागले आगामी वर्ष विभिन्न ३७ वटा शीर्षकमा कुल ४५ दिन विदा दिने निर्णय गरेको हो । अगामी वर्ष बैंक विदा रहने सूचीभित्र ६ दिनको विदा शनिबार परेको छ । विदामा दिन शनिबार पर्दा कर्मचारीले पाउने विदा भने घटेको हाे । 

कुल विदामा ७ दिन सम्बन्धित कर्मचारीले स्वयम् घोषणा गरी सम्बन्धित विभाग कार्यालय वा महाशाखा मार्फत मानव संसाधन विभागमा अग्रिम रुपमा जानकारी गराउनुपर्ने विदा रहेका छन् भने ५ दिनको विदा नेपाल सरकारले पछि तोकिएको दिनमा विदा हुनेछ । ३३ दिन तोकिएको दिन नै विदा उपलब्ध हुनेछ । 

राष्ट्र बैंकले बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला रहने जनाएको छ । सो अवधिमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ्ग कारोबार समय रहेको छ । शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म मात्र बैंकिङ कारोबार हुनेछ ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म वित्तीय संस्था खुला रहनेछ । यस अवधिमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकिङ कारोबार हुने छ । यस अवधिमा शुक्रबार बिहान १० बजेदेखि मात्रै १२ः३० सम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक शनिबार विदा हुने र शुक्रबार आधा दिन बिदा हुने राष्ट्र बैंकले बताएको छ ।

नेपाल सरकारले आकस्मिक रुपमा सार्वजनिक बिदाको घोषणा गरेमा सो दिन बैंक बिदा हुने तर नगद भुक्तानी, इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म प्रवाह हुने केन्द्रीय बैंकले जनाएको छ ।

साथै प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको मात्र सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।