सेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? किन रोकिन्छ कारोबार ?

0
Shares

साेमबार बजार धेरै बढेका कारण सर्किट ब्रेक लागेको छ । बजार धेरै घट्दा पनि सर्किट ब्रेक लाग्छ । साेमबार बजारमा सेयर किन्न खोज्नेहरु धेरै भए पनि धेरै लगानीकर्ताहरुले बिक्री गरेनन् । सेयर कारोबार गर्नका लागि आवश्यक डिम्याट खाता नेपालमा ६१ लाख ९९ हजार बढी खोलिएका छन् । तर यी डिम्याट खाता प्रयोगकर्ता धेरैलाई सर्किट ब्रेकका विषयमा जानकारी नहुन सक्छ ।

सत्ता गठबन्धमा आएको फेरबदलले साेमबारकाे सेयर बजारमा दुइ पटक सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । पहिलो पटक ४ प्रतिशत, दोस्रो पटक ५ प्रतिशत बिन्दुले बजार बढेपछि साेमबारका लागि दुइ पटक अवधि सेयर कारोबार नगरी बन्द गरिएकाे हाे । लगातार सेयर बजारमा आएको गिरावटले निराश भएका लगानीकर्ता सत्ता गठबन्धमा आएको फेरबदलले सोमबारको कारोबारले लगानीकर्ता हौसिएका छन् ।

सोमबार बजार खुलेको ३ मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको थियो । कारोबार रोकिएको २० मिनेटपछि खुलेको बजारमा दोस्रो सर्किट लागेको थियो । त्यसपश्चात खुलेको बजारमा सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

विश्वको जुनसुकै देशमा पनि सेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने प्रणाली कानुनी रुपमा नै व्यवस्था गरिएको हुन्छ । जसलाई हामी छोटो शब्दमा ‘सर्किट ब्रेक’ भनेर भन्ने गर्दछौं । यो सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्दछ ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार–चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । पुँजी बजारको फन्ट लाईन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ । नेपाल स्टक एक्सचेञ्जले विसं २०६४ सालदेखि अस्वाभाविक उतार–चढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकको व्यवस्था गरेको हो । २०६४ अघि सेयर बजारमा एकैदिन जतिपनि घटबढ हुनसक्ने व्यवस्था थियो । २०६४ सालदेखि सुरु भएको व्यवस्थामा केही बुँदाहरु परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा ६ प्रतिशतभन्दा धेरै घट्न पनि सक्दैन ।

कसरी रोकिन्छ सेयर कारोबार ?

विद्यमान कानुनी व्यवस्था अनुसार कुनै पनि दिनमा कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले सेयर बजार बढे वा घटेमा पहिलाे पटकका लागि सर्किट ब्रेक लाग्ने गर्दछ । यस अवधिमा २० मिनेटसम्म  सेयर काराेबार राेकिने गरेकाे छ । यस्तै दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा  थप एक प्रतिशत अर्थात ५ प्रतिशतले बजार बढे वा घटेमा ४० मिनेटका लागि कारोबार स्थगित हुने गर्दछ । यसरी तेस्रो घण्टा वा एक बजे वा त्यसपछिको समयमा थप एक प्रतिशत अर्थात कुल ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।

सर्किट ब्रेकरको व्यवस्था समग्र बजार (नेप्से) मा मात्रै होइन कुनैपनि कम्पनीहरुमा समेत लगाइएको हुन्छ । धितोपत्र बजारमा कारोबार हुने कुनै कम्पनीको सेयर मूल्य एक दिनमा अघिल्लो दिनको मूल्यभन्दा १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ । यसको मतलब कुनै एक ‘एबिसी’ भन्ने कम्पनीको सेयर मूल्य ३१० रुपैयाँ छ । यसो हुँदा यो कम्पनीको सेयर मूल्य ३१० रुपैयाँको १० प्रतिशत अर्थात ३१ रुपैयाँ बढेर ३४१ रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशत अर्थात ३१ रुपैयाँ घटेर १७९ रुपैयाँसम्म झर्न सक्छ । तर एकैदिन ३१० रुपैयाँबाट घटेर २७९ रुपैयाँमा झर्दैन वा बढेर ३४१ रुपैयाँभन्दा माथि पनि पुग्न सक्दैन । कुनै एक कम्पनीको मूल्यमा सर्किट लाग्दा सो कम्पनीको मूल्य तोकिएको मूल्य सीमाभन्दा धेरै बढ्न वा घट्न सक्दैन । यस्तै अन्य कम्पनीको वा सोही कम्पनीको पनि सेयर कारोबार भने रोकिँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।