राजनितिक उतार चढावसँगै लगानीकर्तालाई रमाइलो बनाएको सेयर बजारको गति टिकेन


राजनितिक दलका बिचमा सत्ता साझेदारीमा बनेको नयाँ समीकरणसँगै सोमबार सेयर बजारले रमाइलो मनायो । तीन पटकसम्म धनात्मक सर्किट लागेर सहज कारोबार नै हुन नसकेको बजार अर्को दिनसम्मका लागि बन्द हुन पुग्यो ।

लगानीकर्तासँग हात हातमा लगानी गर्ने रकमको अभाव भइरहेका बेला बैंक वित्तीय संस्थामा तरलता फालाफालको अवस्थामा छ । उक्त तरलता उत्पादक क्षेत्रमा परिचालन हुन नसकिरहेका बेला बजार कमजोर हुँदा पूँजी बजारमा पनि आउन सकिरहेको छैन । यस्तो अवस्थामा सोमबार क्षणिक रमाइलोको अनुभुती गराएको बजार मंगलबार फेरी पुरानै लयमा लागेको छ ।

सोमबारको रफ्तारमा नभए पनि मंगलबार बजार खुलेको ८ मिनेटमा नै २०३८ अंकमा झरेको बजार त्यसपछिको अवधिमा पनि क्रमिक रुपमा ओरालो लागि रहेको छ । सोमबार कारोबार नै हुन नसक्दा केही लगानीकर्ता हाबी भएसँगै ११७ अंकले बढेर २०७८ अंकमा उक्लिएको थियो ।

अहिले यो सामग्री तयार पार्दासम्ममा बजार निरन्तर घटेर २०२२ अंकमा ओर्लिएको छ । १ घण्टाको अवधिमा बजार परिसुचक नेप्से ५६ अंकले घटेको हो । यो अवधिमा २९१ कम्पनीका ४७ लाख कित्ता सेयर २८ हजार पटक किनबेच हुँदा १ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ ।

कारोबारमा आएाक मध्ये २०० भन्दा बढी कम्पनीको सेयर मूल्य घटेको छ भने साना तथा कर्नरिङमा सहज हुने किसिमका केही कम्पनीको सेयर मूल्य मात्र बढेको छ । २० कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको बजारमा सोनापुर मिनिरल्सको अधिक सेयर कारोबार भइरहेको छ । कारोबार संख्या, कारोबारमा आएको सेयर संख्याका आधारमा पनि सोनापुर नै अगाडी छ ।

समुहगत आधारमा सबै समुहमा गिरावट आएको छ । जसमा सबैभन्दा धेरै गिरावट उत्पादन समुहमा आएको छ । उत्पादन समुह ३११ अंकले घटेको बजारमा जीवन बीमा समुहमा २६४, निर्जीवन बीमामा २०६, विकास बैंकमा १११ र वाणिज्य बैंक समुहमा २८ अंकको गिरावट आएको छ ।

अर्थतन्त्र सहज अवस्थामा फर्किएको भनाई चौतर्फ रुपमा सम्बद्ध पक्षहरुले भन्दै आएको भए पनि त्यसको अनुभुती आम सर्वसाधारणले गर्न सकिरहेका छैनन् । सामान्यतया सेयर बजार र घर जग्गाको कारोबारमा एक पछि अर्को गर्दै लगानीकर्ताले परिचालन गर्ने गरेको विगत पनि अहिले असहज अवस्थामा छ । दुवै क्षेत्र एकै पटक सुस्ताएको, अन्य क्षेत्रमा लगानीको सहज अवस्था नहुँदा पनि बजार पछिल्ल केही दिनदेखि निरन्तर ओरालो लागि रहेको छ । यस्तो अवस्थामा एकाएक राजनितिक धरातलमा आएको बदलीबदलीले आर्थिक कृयाकलापलाई थप संकुचित बनाउने अवस्था रहन्छ । राजनितिक स्थायीत्वको चाहनामा रहेका आम नागरिक त्यही अस्थिरताका घटनाबाट थप प्रताडित बन्नु स्वभाविक हो । यसको उदाहरण सोमबार र मंगलबारको सेयर बजारको गतिलाई हेर्दा पनि बुझ्न सकिन्छ ।

आर्थिक व्यवस्थामा आएको असहजताका कारण सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था पनि खस्किँदो अवस्थामा छ । यस्तो असहज अवस्थामा क्षणिक रुपमा बजार तिब्र गतिमा बढ्ने र घट्ने गर्दा त्यसको मार साधारण लगानीकर्ताले खेपिरहेका छन् । बजारको नियम अनुसार सस्तोमा सेयर किनेर माथिल्लो मूल्यमा बिक्री गर्नुपर्नेमा आम लगानीकर्ताको हकमा ठिक उल्टो अवस्था बनिरहेको छ । उनीहरु बजार बढेको हल्लामा माथिल्लो मूल्यमा सेयर किनिरहेका छन् र उनीहरुलाई सिमित संख्याका कारोबारीहरुले धमाधम सेयर भिडाइरहेका छन् ।

जब बजार असहज हुन्छ अनि तिनै आम लगानीकर्ताले महंगोमा किनेको सेयर फेरी कारोबारीहरुलाई घाटा खाएर सस्तोमा बिक्री गरिरहेका छन् । यो चक्र हरेक पटकको बजारको तिब्र वृद्धि र गिरावटमा देखिने गरेको छ । यस्तो अवस्थामा लगानीकर्ता सचेत हुन सकेको खण्डमा घाटा खाने नभई नाफाको अवस्थामा नै बजारमा रहिरहने सम्भावन रहन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।