सरकारले अनुदानको बक्यौता नदिएपछि बीमा कम्पनीले गरे कृषि बीमा नगर्ने निर्णय


कृषि बीमामा सरकारले बीमा कम्पनीहरुलाई भुक्तान गर्नुपर्ने अनुदान रकम भुक्तान नभएको भन्दै बीमा कम्पनीहरुले कृषि बीमा नगर्ने भएका छन् ।

सरकारबाट अनुदान वापतको रकम बीमा कम्पनीले नपाउँदा नोखिम बढ्दै गएको अवस्थामा थप जोखिम दिन नसक्ने भन्दै बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संघले तत्काल कृषि बीमाको काम बन्द गर्ने निर्णय गरेको हो ।

सरकारबाट बाँकी अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गर्दै संघले बुधबार विज्ञप्ति जारी गरेको छ । संघका अनुसार सरकारले बीमा कम्पनीको बक्यौता भुक्तानी नगरेको खण्डमा आगामी चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेख जारी हुने छैन । संघले यस्तो निर्णयबाट कृषि बीमा गर्ने बीमितमा पर्न जाने असरप्रति क्षमा माग्दै सरकारी योजनाको भार बीमा कम्पनीले मात्र बोकिरहेको जनाएको छ ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिँदै आएको जनाउँदै संघले भनेको छ “विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र प्राप्त हुने गरेको छ ।” सरकारले बीमा कम्पनीलाई अनुदानको रकम भुक्तानी नगरेको सम्बन्धमा संघले भनेको छ “सरकारले कृषि बीमाशुल्कमा तोकेको करिब २ अर्ब रुपैयाँ अनुदान रकम बीमा कम्पनीहरुले पाउन बाँकी छ ।”

बक्यौता अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएका कारण बीमा कम्पनीहरु अत्यधिक जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ । संघले तत्काल बक्यौता रकम भुक्तान गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

बीमा ऐन २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने भन्दै संघले आगामी चैत १ गतेदेखि सरकारले अनुदान रकम उपलब्ध गराएपछि मात्र नयाँ बीमालेख जारी गर्ने पनि प्रष्ट पारेको छ । नगद प्रप्त नभएको खण्डमा बीमालेख जारी गर्न नसकिने संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।