अर्थमन्त्रीमा वर्षमान पुन, गृहमन्त्रीमा रवि लामिछाने


नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले जनाएको छ । नयाँ गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ । मन्त्रालय टुंगिन बाँकी रहेपनि एमालेले नयाँ मन्त्रीको भने टुङ्गो लगाएको छ।  एमालेबाट पदम गिरी, बैतडीका सांसद दामोदार भण्डारी, भगवती चौधरी, धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई, ज्वालाकुमारी साह र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी मन्त्री हुने भएका छन् । रघुविर महासेठ र बलराम अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । सञ्चार मन्त्रीका रूपमा माओवादीले रेखा शर्मालाई नै निरन्तरता दिने भएको छ भने ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत पनि दाेहाेरिने भएका छन् । हितबहादुर तामाङ पर्यटन मन्त्रीमा रहने भएका छन् ।यसअघि पर्यटन मन्त्री भएका सुदन किराती भने रिङ आउट भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने स्रोतको दाबी छ । श्रममन्त्रीमा रास्वपा उपसभापति डोलप्रसाद (डिपी) अर्याल रहँदा शिक्षामन्त्रीमा सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयको कार्यभार विराजभक्त श्रेष्ठले पाएका छन् । लामिछाने र अर्यालले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

एकीकृत समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय पाउने भएको छ । जनता समाजवादी पार्टीले भने मन्त्रीको टुङ्गा लगाएको छैन । सो पार्टीले २ वटा मन्त्रालय पाउने भएको छ । यद्यपी जनता समाजवादीले ३ मन्त्रालयको दाबी गरेको छ ।बालुवाटारमा बुधबार दिउँसो भएको गठबन्धन बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी भए पनि जसपाले मन्त्रीको नाम दिएको छैन ।

गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट डिपी अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।