पाल्पा सिमेन्टको निर्यात बढ्दा ६ महिनाको कारोबार १.८० अर्ब नाघ्यो

0
Shares

आरएमसी ग्रुपद्वारा सञ्चालित पाल्पा सिमेन्ट इन्डस्ट्रिज् लिमिटेडले सन् २०२३/२४ को ६ महिनामा १ अर्ब ८० करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशत वृद्धि हो ।

कम्पनीले सन् २०२२/२३ मा ४ अर्ब १२ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सिमेन्ट र क्लिंकर भारत निर्यात बढाउँदा कारोबारमा सुधार आएको हो। पछिल्लो समय सरकारले सिमेन्ट निर्यातमा नगद अनुदानको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले भारततर्फ सिमेन्ट र क्लिङ्करको निर्यात बढ्दो छ ।

सन् २०२४ मा व्यापार गरेकोमध्ये २२ प्रतिशत हिस्सा निर्यातको छ । सन् २०२३ मा ८ प्रतिशत थियो । कम्पनीको देशभर ५ सय डिलर छन् । इन्डस्ट्रिजले तानसेन सिमेन्ट उत्पादन गर्छ । यसले २०७९ असाारदेखि भारतमा सिमेन्ट निर्यात गर्न सुरु गरेको थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीको प्लान्ट नवलपरासी जिल्लाको सुनुवाल गाविसमा अवस्थित छ । सिमेन्ट उद्योगले वार्षिक ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ ।

कम्पनीले ७ अर्ब २७ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुनः पुष्टि गराएको छ। इक्राले ५ अर्ब ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी र १ अर्ब ६८ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि गरिदिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।