बुधबारको कारोबारमा ग्लोबल आईएमई बैंकको हिस्सा ४० प्रतिशत

0
Shares

शेयर बजारमा बुधबार एउटा कम्पनी ग्लोबल आईएमई बैंकको नै कूल कारोबार हिस्साको ४० प्रतिशतको कारोबार भएको छ । कारोबार खुलेको तीन दिनमा नै बैंकको शेयर अधिकतम ३१.३५ प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँ मूल्य बढेपछि बिक्रीको चाप परेको छ।

जनता बैंकसँग मर्जरमा गएको साविक जनता बैंकका शेयरधनीहरूलाई मर्जपछिको कारोबारमा करिब १०० रूपैयाँ नाफाआर्जन भएपछि बैंकको शेयर कारोबार हिस्सा उच्च देखिएको हो।

माघ ६ गते सोमबार मर्जपछि संयुक्त कारोबार खुल्दा नेप्सेले ग्लोबल आईएमई बैंकको शेयरको सुरूवाती मूल्य २५२.४७ रूपैयाँ तोकेको थियो। बैंकको शेयरमूल्यमा दुई दिन सकारात्मक सर्किट लागेको थियो। बुधबार पनि बैंकको शेयर अधिकतम ८.८८ प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँसम्म बढेकोमा बुधबार भने बैंकको शेयरमा खरीद भन्दा बिक्री चाप उच्च हुँदा कारोबारको अन्तिम समयमा १ रुपैयाँ मात्र बढेर ३०५ मा बन्द भएको छ ।

 

 

यसदिन बैंकको १९ लाख ७७ हजार ५८६ कित्ता शेयर ६१ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरमा खरी बिक्री भएका छन्। यो कूल कारोबार रकम १ अर्ब ५८ करोड १३ लाख ८१ हजार रुपैयाँको ३८.६५ प्रतिशत हुन आउँछ ।

विशेषत ग्लोबल आईएमई बैंकसँग ८५ को स्वापमा मर्ज भएको जनता बैंकको शेयरधनी हाबी हुँदा बैंकको शेयर कारोबार खुला भएदेखि नै उच्च कारोबार हुँदै आएको छ ।

मर्जरअघि जनता बैंकको कारोबार २१४ रूपैयाँमा बन्द भएको थियो। बुधबार कारोबार भएको अधिकाशं कित्ता ५ हजार कित्ता भन्दा धेरैका रहेका छन्। ठूलो कित्ताको कारोबारले पनि कारोबारलाई ह्वात्तै बढाएको हो ।

उता कारोबारको सुरुवातको दिनमा शेयर खरीद गरेका लगानीकर्ताले पनि अल्पकालीन नाफा सुरक्षित गर्नतर्फ लाग्दा पनि बुधबार उच्च कारोबार भएको हो ।

बुधबार नेप्से ७.०५ अंकले घटेर १ हजार ३१३.४२ अंकमा झरेको छ । कूल १७८ कम्पनीको कारोबार भएको बजारमा ४९ लाख १४ हजार कित्ता शेयर किनबेच भए । जीवन बीमा बाहेक अन्य सबै समूहको सूचक रााताम्मे रहे । एशियन लाइफ र प्राइफ लाइफको शेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढीले बढेको छ भने पाँचथर पावरको शेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढीले घटेको छ ।