आन्तरिक ऋण व्यवस्थापन गर्न आठ अर्बको विकास ऋणपत्र निष्कासन

0
Shares

सरकारलाई आवश्यक आन्तरिक ऋण व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले फागुन ३० गते बुधबार आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैङ्कले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । सो ऋणपत्रको बोलकबोल भने मंगलबार हुदैछ । विकास ऋणपत्रको अवधि छ ८ वर्षको हुनेछ । फागुन ३० गते जारी मिति तोकिएको ऋणपत्रको परिपक्व २०८८ फागुन ३० गते हुनेछ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने उक्त ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गरिएको हो ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ६ अर्ब ८० करोड (८५ प्रतिशत) र १ अर्ब २० करोड (१५ प्रतिशत) छुट्याइएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर दशमलव पछाडि दुई अंकसम्म मात्र उल्लेख गर्नु पर्नेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको अटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । घटीमा पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनी वापतको रकम राष्ट्र बैंकमा रहेको खाता नम्बरमा जम्मा गरेको सक्कल भौचर मौद्रिक व्यवस्थापन विभागमा २०८० फागुन २९ गते दिनको ३ बजेभित्र पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनीवापतको रकम आआफ्नो खातामा मौज्दात कायम गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।