नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले समयमैं प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही गरिने स्पष्ट पारे ।
“बीमा सर्भेयर सङ्घले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमैं प्रतिवेदन बुझाउनुपर्छ, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छ ।” अध्यक्ष सिलवालले भने,‘ बीमा कम्पनीहरूले पनि तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न पाउँदैननन् ।’
बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने उनले बताए । बीमा कम्पनीहरूले स्थान अनुसार बीमा सर्भेयरको सूची बनाउनुपर्ने र सर्भेका लागि सोही स्थानका सर्भेयरलाई खटाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सर्भेयरको इजाजतपत्र नपाएकाहरूले सर्भेयरको काम गरेमा कारवाही हुने बताए ।
कार्यक्रममा सहभागी बीमा सर्भेयरहरूले मधेश प्रदेशमा कति सर्भेयर छन् भन्ने थाहा नभएको, इजाजतपत्र लिएको दुई वर्षसम्म पनि बीमा कम्पनीहरूले काम नदिएको, सर्भेयरको वर्गीकरणबाट पुराना सर्भेयरलाई मर्का पर्ने अवस्था रहेको, कम्पनीहरूमा सर्भेयरको सूचीकरणमा एकरूपता नभएको, कम्पनी आफैँले र इजाजतपत्र नलिएकाहरूले पनि सर्भेयरको काम गर्ने गरेको लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया