चिनियाँ लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह

0
Shares

अर्थमन्त्री वर्षमान पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।  नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको बताए ।

भेटमा अर्थमन्त्री पुनले चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने र लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास व्यक्त गरे । पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुनसक्ने बताए ।

जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण पनि तत्काल अघि बढाउनुपर्ने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा ‘क्रस हिमालय रेलवे’ परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएकामा चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे अर्थमन्त्री पुनले चासो व्यक्त गरे । नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण जारी छ ।

“रेल मार्ग नेपालीको सपना हो । यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ र चिनियाँ पक्षबाट छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ,” अर्थमन्त्री पुनले भने । तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा अर्थमन्त्री पुनले चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरे । चीनसँगका अरू नाका खोल्नका लागि पनि चिनियाँ पक्षसँग उनले आग्रह गर्नुभयो । टोखा–छहरे सुरुङमार्ग निर्माणलाई नेपालले प्राथमिकतामा राखेकाले उक्त आयोजनाको सम्भाव्यता अध्ययनको काम चाँडो सकिने विश्वास पनि उनले व्यक्त गरे ।

आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनका लागि चिनियाँ लगानीकर्तालाई निमन्त्रणा गरिसकिएको जानकारी दिँदै अर्थमन्त्री पुनले उक्त सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनमार्फत आग्रह गरे । भेटमा उनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न पनि आग्रह गरेका छन् ।

जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए । उनले नेपाल र चीनबीच लामो मित्रता तथा सहकार्य रहेको उल्लेख गर्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे । राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए । चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

“चीन–नेपाल सम्बन्ध उचाइमा र्पुयाउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौँ । साथै दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौँ,” राजदूत छनले भने । पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी पनि उनले गराए । त्यसका लागि हवाई रुटका साथै पोखरा–काठमाडौँ र भैरहवा–काठमाडौँ उडानको अनुमति चाहिने उल्लेख गरे ।

आज अर्थमन्त्रालयमा भएको भेटघाटमा द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।