सरकारको जोडबल लोकप्रिय बजेट, सांसदहरुको सुझाब कनिका नछर्नुस्


सरकारले आगामी आर्थिक बर्षका लागि अति लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । संघीय संसदको अर्थ समितिमा बुधबार भएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री खतिवडाले स्रोतले धानेसम्म पपुलिस्ट बजेट ल्याउने खुलासा गरेका हुन् ।

बैठकमा अर्थमन्त्रीले भने, स्रोतले भ्याएसम्म जनताका हरेक आंकाक्षा बजेटले समेट्छ । सरकारले अगाडि सारेका राजनीतिक एजेण्डालाई आर्थिक रुपमा बजेटले साथ दिने उनले प्रष्टाए । साथै खतिवडाले यो बर्ष ७ प्रतिशतको जिडिपी ग्रोथ हुने पनि बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने र सरकारी कर्मचारीको तलब बढाउने लगायत विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमहरु घोषणा गरिसकेको छ ।

कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा आफू कटिबद्ध रहेको बताउदै विस्तृत आयोजना प्रतिवेदन नभएका आयोजना बजेटमा समावेश नगर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । छलफलमा सांसदहरुले सरकारले पपुलिस्ट बजेटका नाममा कनिका छरेजसरी बजेट छर्न नहुने सुझाब दिएका थिए ।