सर्वोत्तम सिमेन्टको आईपीओमा लाग्यो नकारात्मक सर्किट, तीन घण्टामा ३ लाख कित्ता कारोबार

0
Shares

सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको आठौं कारोबार दिनमा आउँदा नकारात्मक सर्किट लागेको घटेको छ ।

आइतबार सुरुवाती कारोबारमा नै गत बिहीबारभन्दा २१ रुपैयाँ कम १०६१.१० रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीम अत्याधिक बिक्री चाप आएपछि ९.९९ प्रतिशतले घटेको छ । प्रतिकित्ता १०८ रुपैयाँ २० पैसाका दरले सेयर मूल्य घटेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७४ रुपैयाँ ५० पैसामा झरेको छ ।

आइतबार कारोबार खुला भएको ३ घण्टा अवधिमा कम्पनीका लगानीकर्ताले न्यूनतम ५ हजार ४१० रुपैयाँ गुमाएका छन् । ५० कित्ता सेयर हात पारेका लगानीकर्ताको सेयरको भ्यालू (पोर्टफोलियो) बिहीबार ५४ हजार १३५ रुपैयाँ रहेकोमा हाल ४८ हजार ७२५ मा झरेको हो । आज कम्पनीको सेयर औसत ९८२ रुपैयाँ १२ पैसामा कम्पनीको सेयर कारोबार भएको छ । आइतबार दिउँसो २ बजेसम्ममा सर्वोत्तम सिमैनटको २८ करोड ४४ लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ । नेप्सेका अनुसार आइतबार पहिलो ३ घण्टा अवधिमा कम्पनीको २ लाख ८७ हजार ६१९ कित्ता सेयर २८ करोड ४४ लाख ३९ हजार ९९१ रुपैयाँमा खरिद बिक्री भएको हो । यसअघि ७ दिनमा २ लाख ६९ हजार ५४१ कित्ता सेयर २७ करोड २३ लाख ३९ हजार ४५७ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कारोबार खुलेको पहिलो दिन चैत ६ गते मंगलबार २४४२ कित्ता कारोबार भएको कम्पनीको सेयर बुधबार २२५६, बिहीबार ७३०५, सोमबार २६ हजार ८८५ कित्ता, मंगलबार २८ हजार ७५३ कित्ता र बुधबार २२ हजार ८८५ कित्ता र बिहीबार १ लाख ७८ हजार ९२५ कित्ता सेयर कारोबार भएको हो । यसरी ७ दिनमा भएको कित्ताको कारोबार र आइतबार ३ घण्टामा भएको कारोबार धेरै भैसकेको हो । यसले कम्पनीको सेयरमा उच्च बिक्री चाप बढेको संकेत गर्दछ ।

दिउँसो दुई बजेको समयमा नकारात्मक सर्किट मूल्य ९७४ रुपैयाँ ५० पैसामा नेप्सेको मार्केट डेप्थमा कम्पनीको धितोपत्र १ लाख ७४ हजार ९१४ कित्ता सहित कुल २ लाख ५२ हजार ४२६ कित्ताको बिक्री आदेश रहेको छ । नकारात्मक सर्किट मूल्यमा समेत आदेश नआउँदा खरिदतर्फ आदेश देखिएको छैन ।

प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आईपीओ निष्कासन गरेको कम्पनीको सेयर ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता आईपीओ हात पारेका थिए ।

कस्तो छ कम्पनी ?

उत्पादनमुलक कम्पनीमा सूचीकृत सर्वोत्तम लिमिटेड लिमिटेडको अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपाने रहेका छन् । उद्याेगबाट प्रति दिन ३००० टन उत्पादन क्षमता रहेको उद्योगबाट उत्पादनहरू ४३ र ५३ ग्रेड ओपीसी र पीपीसी सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनीसँग २ हजार ४०० क्लिंकर वितरण नेटवर्क, उत्पादन क्षमता ५० किलोका ६० हजार बोरा प्रतिदिन रहेको छ ।

कम्पनीको कुल वार्षिक कारोबार (आम्दानी) ५.३८ अर्ब रुपैयाँ छ । प्रति सेयर आम्दानी वार्षिक ५ रुपैयाँ १३ पैसा र प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ । यस्तै ७.५ अर्ब कुल इक्विटी रहेको कम्पनीसँग ५.७६ अर्ब कुल ऋण दायित्व छ भने ऋण र इक्विटी अनुपात ०.७६ छ । यस्तै लगानी ५५.६ करोड, सामग्रीको लागत १.०८ अर्ब, जगेडा कोष तथा बचतमा ३ अर्ब ४५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीमा  कम्पनीमा मिना कुमारी अग्रवाल, टीकाराम न्यौपाने, दिवास न्यौपाने, तेन्जिङ लिक्देन तामाङ निर्देशक छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सीए सन्तोष केसी छन् भने संस्थागत बिक्री प्रमुखमा इञ्जिनियर अभिषेक झा, गोपाल सारडा (मार्केटिङ एण्ड ब्रान्ड हेड), नेत्र घिमिरे (प्रशासन प्रमुख, कारखाना) र सुरेन्द्र महासेठ ( इलेक्ट्रिकल र इन्स्ट्रुमेन्ट इन्जिनियर प्रमुख) र नवराज पौडेल कम्पनी सचिव छन् ।

ऋणतर्फ प्राइम कमर्सियल बैंकलाई १ अर्ब, नेपाल बैंकलाई ८७ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १८ करोड ६८ लाख र प्रभु बैंकलाई १७ करोड ५५ लाख भुक्तानी गर्न बाँकी छ । यस्तै कम्पनीले विद्युत प्राधिकरणलाई तिर्न बाँकी विद्युत खपत वापतको भुक्तानी ७३ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।